सिरहामा ट्याक्टरको टुलबक्सभित्र लुकाएर लैजाँदै गरिएको ७२ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सिरहा नगरपालिका–१२ सारस्वर टोलका ३३ वर्षीय अनिलकुमार महतो रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शनिबार राति करिब ९ः३० बजे सिरहा नगरपालिका–१ स्थित भित्री सडकखण्डमा विशेष सूचनाका आधारमा प्रहरीले ट्याक्टर जाँच गरेको थियो। शिवचोकबाट सिरहा बजारतर्फ जाँदै गरेको ना.१ त ६३९१ नम्बरको ट्याक्टर रोकेर जाँच गर्ने क्रममा गाँजा फेला परेको हो।
प्रहरीका अनुसार ट्याक्टरको इन्जिन टेलरमा रहेको टुलबक्सभित्र फल्स बटम बनाएर प्लास्टिक टेपले बेरेको अवस्थामा गाँजा लुकाइएको थियो।
बरामद गरिएको गाँजा प्लास्टिकसहित तौल गर्दा ७२ किलो रहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा ट्याक्टर चालक महतोलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।








