काठमाडौँ । नेपालमा आवश्यक पर्ने पूजा तथा धार्मिक सामग्री स्वदेशमै उत्पादन र बजारीकरण गर्ने उद्देश्यसहित गुरुमञ्जरीले अभियान सुरु गरेको छ।
यसैक्रममा गुरुमञ्जरी अस्ट्रेलियाको आयोजनामा भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा उपत्यकाका करिब १ हजार १०० पण्डित तथा पुरोहितको सहभागितामा सम्मेलन आयोजना गरिएको छ।
कार्यक्रममा अभियानका परिकल्पनाकार पण्डित प्रकाश ढोडारीले धार्मिक सामग्रीको शुद्धता कायम गर्दै नेपाली उत्पादनलाई प्रोत्साहन गर्ने र पण्डित–पुरोहितलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताए।
सम्मेलनमा सहभागी वक्ताहरूले बजारमा शास्त्रअनुसार शुद्ध पूजा सामग्रीको अभाव रहेको उल्लेख गर्दै तिनको स्वदेशी उत्पादनमा जोड दिएका थिए। गुरुमञ्जरीले मोबाइल एपमार्फत पूजा सामग्री तथा गुरु–पुरोहितका सेवा उपलब्ध गराउने जनाएको छ।
सन् २०१८ देखि अस्ट्रेलिया, क्यानडा, अमेरिका र बेलायतलगायत देशमा धार्मिक सामग्री उपलब्ध गराउँदै आएको संस्थाले यस वर्षदेखि नेपालमा पनि सेवा विस्तार गरेको जनाएको छ। आगामी दिनमा सातै प्रदेशमा पुरोहित सम्मेलन आयोजना गर्ने योजना रहेको संस्थापक ढोडारीले जानकारी दिए।








