काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार र अनियमितता अन्त्य गर्दै सुशासन कायम गर्न सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
आइतबार काठमाडौँमा बाह्रखरी मिडियाको आठौँ कथा प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै उनले जनताको अपेक्षा र विश्वासअनुसार सरकारले इमानदारी, पारदर्शिता र जवाफदेहिताका साथ काम गर्नुपर्ने बताए।
जेनजी आन्दोलनपछि नेपाली राजनीतिमा आएको परिवर्तनले नयाँ राजनीतिक शक्तिलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै उनले उपलब्ध स्रोतसाधनको पारदर्शी र प्रभावकारी परिचालनबाट विकास तथा समृद्धिको यात्रालाई गति दिन सकिने धारणा राखे।
सभामुख अर्यालले साहित्यकारहरूले समाजका विकृति र विसङ्गतिमाथि प्रश्न उठाउनुका साथै सकारात्मक प्रयास र असल अभ्यासलाई पनि प्रोत्साहन गर्नुपर्ने बताए। साहित्यले समाजको यथार्थ र नागरिकका भावना उजागर गर्ने भएकाले नीति निर्माता तथा जनप्रतिनिधिले समेत साहित्यको अध्ययन गर्नुपर्नेमा उनले जोड दिए।








