रणबीर कपूर अभिनीत फिल्म ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ । फिल्मले २१ दिनमा विश्वभर १ हजार ७५५ करोड ६० लाख रुपैयाँ कमाएको छ । यससँगै फिल्मले कमाइको मामिलामा ‘पुष्पा २’ लाई पछाडि छाडेको छ ।
फिल्मले बुधबार भारतमा १५ हजार ७00 शोबाट ९ करोड ६० लाख रुपैयाँ कमाएको छ । यसमा हिन्दी संस्करणको कमाइ सबैभन्दा बढी छ । हिन्दीमा ६ करोड ७५ लाख रुपैयाँ, मलयालममा १ करोड १० लाख रुपैयाँ, कन्नडमा ७५ लाख रुपैयाँ, तमिलमा ७० लाख रुपैयाँ र तेलुगुमा ३० लाख रुपैयाँ नेट कमाइ गरेको छ ।
प्रदर्शनको २१ दिनपछि फिल्मको भारतमा कुल नेट कमाइ ९८२ करोड ५५ लाख रुपैयाँ पुगेको छ । भारतमा ग्रस कमाइ भने १ हजार १७३ करोड ६० लाख रुपैयाँ भएको छ ।
विदेशमा फिल्मले २१औँ दिन ६ करोड रुपैयाँ कमाएको छ । यससँगै विदेशमा कुल ग्रस कमाइ ५८२ करोड रुपैयाँ पुगेको छ ।
बाहुबली २ को रेकर्ड तोड्न ३२ करोड बाँकी
विश्वभर १ हजार ७५५ करोड ६० लाख रुपैयाँ कमाइसकेको ‘रामायण’ ले अल्लु अर्जुन अभिनीत ‘पुष्पा २’ को लाइफटाइम कमाइलाई पछाडि छाडेको छ । ‘पुष्पा २’ ले विश्वभर १ हजार ७४२ करोड १० लाख रुपैयाँ कमाएको थियो ।
अब ‘रामायण’ सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको सूचीमा चौथो स्थानमा पुगेको छ ।
‘रामायण’ लाई ‘बाहुबली २’ को रेकर्ड तोड्न अझै ३२ करोड ४६ लाख रुपैयाँ कमाउनुपर्नेछ । ‘बाहुबली २’ को विश्वव्यापी कमाइ १ हजार ७८८ करोड ६ लाख रुपैयाँ छ । यस्तै, ‘धुरन्धर २’ ले १ हजार ८१३ करोड ३९ लाख रुपैयाँ कमाएको छ ।
सर्वाधिक कमाइ गर्ने भारतीय फिल्मको रेकर्ड भने ‘दंगल’ को नाममा छ । यसले विश्वभर २ हजार करोड रुपैयाँभन्दा बढी कमाएको थियो ।
प्रदर्शनमा आएको पहिलो २० दिनसम्म ‘रामायण’ ले भारतमा दैनिक दोहोरो अंकमा नेट कमाइ गरिरहेको थियो । तर, २१औँ दिन फिल्मले ९ करोड ६० लाख रुपैयाँ नेट कमाइ गरेसँगै पहिलोपटक दैनिक कमाइ १० करोड रुपैयाँभन्दा तल झरेको हो ।
यसअघि मंगलबार फिल्मले १७ करोड ५० लाख रुपैयाँ कमाएको थियो । त्यसको तुलनामा बुधबारको कमाइ ४५.१ प्रतिशतले घटेको छ ।








