काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय हितका महत्वपूर्ण विषयहरू उठाउन नसकेको आरोप लगाएका छन्।
बिहीबार काठमाडौंमा सम्पादकहरूसँगको संवादमा ओलीले प्रधानमन्त्री शाहले विगतमा महानगरपालिकाको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर चर्चा कमाए पनि भारत भ्रमणका क्रममा सीमा विवादबारे एउटा शब्दसमेत नबोलेको दाबी गरे।
उनले भारत भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दल तथा सरोकारवालासँग आवश्यक परामर्श नगरिएको भन्दै भ्रमणको तयारी र कूटनीतिक प्रक्रियामाथि प्रश्न उठाए।
‘प्रधानमन्त्री जाँदा उहाँसँग सिंगै राष्ट्र जानुपर्ने हो, तर त्यो उहाँको निजी भ्रमणजस्तो हुन पुग्यो,’ ओलीले भने।
उनका अनुसार २५ घण्टाका लागि गरिएको छोटो भ्रमणमा राष्ट्रहितका विषयमा गहिरो छलफल गर्ने अवसर गुमेको छ। उनले भ्रमणबाट कुनै नयाँ उपलब्धि हासिल नभएको र भएका सहमति विगतकै विषयको निरन्तरता मात्र भएको टिप्पणी गरे।
भारतले विगतमा जनकपुर र भूकम्पपछिको पुनर्निर्माणका लागि प्रतिबद्धता जनाए पनि सहायता उपलब्ध नगराएको उदाहरण दिँदै ओलीले यसपटक घोषणा गरिएका आर्थिक तथा विकास सहायता कार्यान्वयन हुनेमा पनि आशंका व्यक्त गरे।
त्यस्तै, प्रबुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनका विषयमा सरकारले अनुचित रूपमा आफ्नो अडान छाड्न खोजेको आरोप उनले लगाए। सीमा लगायतका द्विपक्षीय विषय समाधान गर्न दुवै देशका सरकारले सहमतिमा ईपीजी गठन गरेको स्मरण गराउँदै उनले त्यसलाई असान्दर्भिक बनाउन खोज्नु गलत भएको बताए।
ओलीले आफू प्रधानमन्त्री हुँदा अमेरिकाको रक्षा तथा सुरक्षा रणनीतिसम्बन्धी कार्यक्रम एसपीपीमा हस्ताक्षर हुनबाट रोकेको दाबीसमेत गरे। तर, त्यसको प्रक्रिया र घटनाक्रमबारे उनले विस्तृत विवरण भने दिएनन्।
सम्पादकहरूसँगको संवादमा ओलीले वर्तमान सरकारको प्रेसप्रतिको व्यवहार, न्यायालयको कार्यसम्पादन र संवैधानिक निकायहरूको भूमिकामाथि पनि प्रश्न उठाए।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु लोकतन्त्रको आधार भएको उल्लेख गर्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गर्दा पनि पर्याप्त प्रतिवाद हुन नसकेको टिप्पणी गरे। न्यायालयमा सरकारी प्रभाव देखिएको संकेत गर्दै उनले न्यायसम्पादन निष्पक्ष हुनुपर्नेमा जोड दिए।
आफ्नो राजनीतिक नेतृत्वको सान्दर्भिकताबारे उठेका प्रश्नको जवाफ दिँदै ओलीले उमेरलाई नेतृत्वको अयोग्यताको आधार बनाउन नहुने तर्क गरे। उनले आफ्ना गलत नीति भए प्रमाणसहित आलोचना गर्न चुनौतीसमेत दिए।
यसैबीच, एमालेभित्र केही अराजकता बढे पनि पछिल्लो केन्द्रीय बैठकबाट पार्टीलाई सही दिशामा फर्काइएको उनको दाबी थियो।
ओलीले स्थानीय र प्रदेश निर्वाचन संविधानले तोकेको समयमै हुनुपर्ने अडान राख्दै दुवै निर्वाचन एकैपटक गराउन नहुने धारणा पनि व्यक्त गरे।








