काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘डिजिटल नेपाल फ्रेमवर्क’ आफ्नो नेतृत्वको सरकारले सुरु गरेको दाबी गर्दै विदेशी प्रविधि तथा व्यावसायिक कम्पनीहरूलाई नेपालको कानुन र नियमनको दायरामा ल्याउन वर्षौँदेखि प्रयास भइरहेको बताएका छन्।
विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग बिहीबार भएको अन्तर्क्रियामा ओलीले डिजिटल नेपालको अवधारणा समयको आवश्यकता पहिचान गरेर अघि सारिएको उल्लेख गरे। उनले यसको दोस्रो संस्करण ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ समेत आफ्नै नेतृत्वमा विकास तथा अद्यावधिक गरिएको दाबी गरे।
नेपाल कमजोर देश भएकै कारण कानुन र नियम पालना गर्न नपर्ने भन्ने सोच स्वीकार्य नहुने उनको भनाइ थियो। संविधान र कानुनको अवज्ञा गर्दै दर्ता तथा नियमनको दायरामा नआउने चुनौती दिएपछि विदेशी कम्पनीहरूलाई नियमन गर्ने प्रयास अघि बढाइएको उनले स्पष्ट पारे।
अन्तर्क्रियाका क्रममा ओलीले नेपालको राजनीतिक तथा आर्थिक अवस्थाबारे टिप्पणी गर्दै देशलाई श्रीलङ्का र बङ्गलादेशको अवस्थामा पुर्याउने प्रयास पहिलेदेखि नै भइरहेको दाबीसमेत गरे।
उनले अष्टमीका दिन बलि दिन बाँधिएको बोकाको उदाहरण दिँदै राज्य संयन्त्रले साथ नदिएपछि प्रधानमन्त्रीले मात्रै सबै परिस्थिति नियन्त्रण गर्न नसक्ने टिप्पणी गरे।
आफ्नो राजनीतिक संघर्ष र विगतको जेलजीवन स्मरण गर्दै ओलीले आफू व्यक्तिगत स्वार्थभन्दा देश र भावी पुस्ताको भविष्यका लागि संघर्षरत रहेको बताए। आफूले जीवनमा धेरै कठिन परिस्थिति भोगेको उल्लेख गर्दै उनले देशको भविष्य नै आफ्नो मुख्य चासो भएको धारणा राखे।
यस्तै, ओलीले आफू पञ्चायतकालमा बिना आधार १० वर्ष र त्यसपछि थप चार वर्ष जेलमा बस्नुपरेको दाबी गरे। उनले सजाय पूरा भएपछि पनि आफूलाई थुनिएको र सर्वोच्च अदालतले तत्काल रिहा गर्न आदेश दिँदासमेत प्रहरीले पुनः पक्राउ गरेको घटना सुनाए।
न्यायालयको आदेश र राज्यका संस्थाहरूको अधिकारको सम्मान हुनुपर्नेमा जोड दिँदै ओलीले लोकतान्त्रिक व्यवस्थामा सबैले संविधान, कानुन र अदालतको सम्मान गर्नुपर्ने बताए। अदालतको सम्मान केवल पीडितले मात्रै गरेर नहुने भन्दै राज्यका सबै पक्षले न्यायालयको गरिमा कायम राख्नुपर्ने उनको भनाइ थियो।








