झापा । सरकारबाट अनुदानमा उपलब्ध गराइएको रासायनिक मलको बिक्री वितरणमा अनियमितता गरेको पाइएपछि झापाको एक कृषि भण्डारलाई जिल्ला प्रशासन कार्यालयले दुई लाख रुपैयाँ जरिबाना गरेको छ।
जरिबानामा पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ स्थित संजिवनी कृषि भण्डार रहेको छ। सञ्चालक प्रेमकुमार भट्टराईले खरिद गरेको मलको मौज्दात र बिक्री विवरणमा गम्भीर अन्तर देखिएपछि प्रशासनले कारबाही गरेको हो।
जिल्ला प्रशासन कार्यालयका अनुसार अनुदानित मल अनधिकृत रूपमा बिक्री भइरहेको भन्ने गोप्य सूचनाका आधारमा बिहीबार गरिएको आकस्मिक अनुगमनका क्रममा अनियमितता फेला परेको थियो।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भण्डारले साल्ट ट्रेडिङ कर्पोरेसन र कृषि सामग्री कम्पनी लिमिटेड, बिर्तामोडबाट कुल ४०० बोरा रासायनिक मल खरिद गरेको थियो। तर अनुगमनका क्रममा गोदाममा २४१ बोरा मात्रै फेला परेको थियो। बाँकी १५९ बोरा मलको बिक्री तथा मौज्दात विवरण सञ्चालकले पेस गर्न सकेनन्।
भण्डारले खरिद गरेको मलमध्ये १७० बोरा युरिया र २३० बोरा डीएपी थियो। अनुगमनका क्रममा १२० बोरा युरिया र १२१ बोरा डीएपी मात्रै मौज्दात भेटिएको थियो। बाँकी ५० बोरा युरिया र १०९ बोरा डीएपीको हिसाब देखाउन नसकेपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम दुई लाख रुपैयाँ जरिबाना गरिएको प्रजिअ पोखरेलले जानकारी दिए।
सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीको संयोजकत्वमा कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको थियो।
यसैबीच, बुद्धशान्ति गाउँपालिका–३ स्थित ७ नम्बर चोकमा रहेको न्यू कञ्चन कृषि सहकारी संस्थाको समेत अनुगमन गरिएको थियो। उक्त संस्थाको मल खरिद, बिक्री तथा मौज्दात विवरण भने दुरुस्त पाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।








