काठमाडौं । अमेरिकी डलर सस्तो दरमा साटिदिने प्रलोभन देखाएर २० लाख ४५ हजार रुपैयाँ ठगी गरी फरार भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने ३३ वर्षीय जितबहादुर पाइन रहेका छन्।
प्रहरीका अनुसार गत असोज ६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरको जंगलनजिक एकान्त स्थानमा पाइनले एक व्यक्तिलाई सस्तो दरमा अमेरिकी डलर साटिदिने भन्दै प्रलोभनमा पारेका थिए।
पीडितले डलर साट्ने उद्देश्यले साथमा ल्याएको २० लाख ४५ हजार रुपैयाँ लिएर उनी फरार भएको प्रहरीको भनाइ छ।
घटनाबारे अनुसन्धान गर्ने क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीबाट पक्राउ गरेको हो।
पक्राउ परेका पाइनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।








