काठमाडौं । ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
बिहीबार अदालतले सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। उनीहरूलाई थप समय हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति प्राप्त भएको काठमाडौं जिल्ला अदालतका एक अधिकृतले जानकारी दिएका छन्।
प्रहरीका अनुसार ईनमसँगको सम्बन्ध र आर्थिक कारोबारमा संलग्नता देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।
ईनम सापकोटामाथि राष्ट्र बैंक ऐन, २०५८ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान भइरहेको छ। यस्तै, श्रेष्ठ र भट्टमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको सम्बन्ध र कनेक्सनको विषय अनुसन्धानमा जोडिएपछि ईनम सापकोटा यसअघि पक्राउ परेकी थिइन्। प्रहरीले उनीहरूसँग सम्बन्धित आर्थिक कारोबार र अन्य सम्भावित संलग्नताबारे थप अनुसन्धान अघि बढाइरहेको छ।








