काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य निमा गिरीले नेपाली राजनीतिमा गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै त्यसलाई चिर्न पार्टी सचेत हुनुपर्ने बताएकी छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्दै गिरीले माओको भनाइ उद्धृत गर्दै नेपालको वर्तमान राजनीतिक अवस्थालाई ‘जस्तो बाजा बज्छ, त्यही तालमा नाच्नुपर्छ’ भन्ने दृष्टान्तमार्फत व्याख्या गरिन्।
उनले अहिले राजनीतिक रूपमा शोक धुन बजिरहेको भए पनि जनताले त्यसैलाई नाच्ने धुनका रूपमा बुझिरहेको टिप्पणी गरिन्। राजनीतिक परिस्थितिको वास्तविक अर्थ जनतालाई बुझाउनु कांग्रेसको जिम्मेवारी भएको उनको भनाइ थियो।
कांग्रेसले जनतासँगको भेटघाट र संवादलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै उनले पार्टीको कार्यशैली परिवर्तन गर्नुपर्ने बताइन्। कांग्रेसलाई राजमार्गमा गुडिरहेको ट्र्याक्टरसँग तुलना गर्दै उनले तीव्र गतिमा अघि बढ्न सक्ने प्रभावकारी राजनीतिक शक्तिका रूपमा पार्टीलाई रूपान्तरण गर्नुपर्ने धारणा राखिन्।
त्यस्तै, लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ उल्लेख गर्दै गिरीले हिंसालाई महिला वा पुरुषसँग मात्र जोडेर हेर्न नहुने बताइन्।
‘हिंसाको लिङ्ग हुँदैन, हिंसा महिला वा पुरुषले गर्ने होइन, हिंस्रक व्यक्तिले गर्छ,’ उनले भनिन्।
उनले नेपालमा पटक–पटक संविधान निर्माण र ठूला राजनीतिक आन्दोलन भए पनि नागरिकले सामान्य सार्वजनिक सेवा लिनसमेत लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुन नसकेको टिप्पणी गरिन्।
गिरीले देशको समग्र व्यवस्था सुधारका लागि विद्यालय र न्यायालय प्रभावकारी रूपमा सञ्चालन हुनुपर्नेमा जोड दिइन्। तर, अहिले विद्यालय र न्यायालय दुवै अपेक्षित लयमा चल्न नसकेको उनको भनाइ थियो।








