काठमाडौं । पठाओको नाममा सामान डेलिभरी गरिदिने बहाना बनाई यात्रुको सामान लिएर फरार हुने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा उपत्यकाबाहिरबाट आएका यात्रुलाई पठाओमार्फत सामान पुर्याइदिने भन्दै सामान लिएर फरार हुने गरेको गुनासोपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।
प्रहरी प्रभाग गोंगबु र प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले बिहीबार काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कबाट ६१ वर्षीय हरिबहादुर पोखरेललाई नियन्त्रणमा लिएको हो।
तनहुँको व्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको बानियाटार बस्दै आएका पोखरेललाई बा.६३ प.८३४३ नम्बरको स्कुटरसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका पोखरेलमाथि थप अनुसन्धान भइरहेको छ।








