काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताएका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले अहिले शिक्षा विधेयक संघीय संसदमा रहेको उल्लेख गर्दै शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले कानूनी र नीतिगत सुधार सरकारको प्राथमिकता रहेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले संविधानले निर्दिष्ट गरेका व्यवस्थाहरुलाई आवश्यक कानून नीति, निर्माण गरेर संविधानका व्यवस्थाहरुलाई जनतासम्म पु¥याउने काममा सरकार लागिरहेको बताए । उनले संघीय संसदमा विधायनको काम ढिलो भएकाले निश्चित सीमा अवधिभित्र विधायनको कामलाई सक्नैपर्ने व्यवस्था गरेर कानून निर्माण गर्ने काममा सरकार लागिरहेको उल्लेख गरे ।
गृहमन्त्री लेखकले शिक्षा विधेयकलाई सन्तुलित बनाउन जरुरी रहेको भन्दै विद्यार्थी र अभिभावकको सर्वोत्तम हितलाई केन्द्रमा राखेर शिक्षकका हित, विद्यालयका कर्मचारीका हित, निजी र आवासीय विद्यालयका हित, सामुदायिक र सार्वजनिक विद्यालयका हितहरुलाई केन्द्रिय भागमा राखेर विधेयक पारित हुने बताए ।






