काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेसनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीको २५औँ वार्षिकोत्सवको अवसरमा प्राप्त यो सम्मानलाई नेपाल लाइफले अर्को महत्त्वपूर्ण उपलब्धिका रूपमा लिएको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)ले सोमबार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा उक्त अवार्ड प्रदान गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली र नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले संयुक्त रूपमा अवार्ड ग्रहण गरेका थिए।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मान तथा अन्य लेखा मापदण्डको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको प्रतिबद्धताको मूल्याङ्कन गर्दै नेपाल लाइफलाई उक्त सम्मान प्रदान गरिएको आइक्यानले जनाएको छ।
अवार्ड ग्रहणपछि प्रमुख कार्यकारी अधिकृत पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादन कायम राख्न थप जिम्मेवार बनाएको उल्लेख गरे। साथै उनले सञ्चालक समिति, बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।
कम्पनीका अनुसार, चालु आर्थिक वर्षको चैत मसान्तसम्म ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरिएको छ। नेपाल लाइफले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको तथा हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ।
त्यसैगरी, कम्पनीले हालसम्म नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर बुझाएको जनाएको छ। वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति र दायित्व बहन गर्ने उच्च क्षमताका आधारमा इक्रा नेपालबाट ‘डबल ए माइनस क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा समेत नेपाल लाइफ स्थापित भएको कम्पनीले जनाएको छ।
हाल नेपालका ७७ वटै जिल्लामा १९७ कार्यालय र ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको नेपाल लाइफले वित्तीय पारदर्शिता, सुशासन र ग्राहकप्रतिको प्रतिबद्धतालाई निरन्तर सुदृढ बनाउँदै लैजाने जनाएको छ।






