देवाम्श देबकोटा
-बिद्यार्थी

हरेक बिहान जब सूर्यको पहिलो किरण ती अग्लाअग्ला पहाडको टाकुराबाट मुस्कुराउँदै
जमिनमा झर्छ, त्यही उज्यालोले जीवनको अर्को अध्याय कोर्न थाल्छ। प्रकृति कहिले हतार गर्दैन,
उ त केवल निरन्तर बगिरहन्छ, अघि बढिरहन्छ। हो, त्यही बाटो अँगालेर हामी पनि उसैका
साथ आफ्नो सोच फराकिलो बनाउँदै अघि बढ्न सक्छौं। फराकिलो सोच भन्नुको अर्थ केवल
ठूलो सपना देख्नु होइन, त्यो सपना देख्ने आँखा भित्र सकारात्मक सम्भावनाको झिल्को देख्नु हो।
जब हामी प्रकृतिलाई नियाल्छौ; एक सानो बिउले विशाल रुखको आकृति लिन्छ,शुष्क माटोले
हरियाली उत्पादन गर्छ अनि सुनसान बादलहरुले वर्षा दिएर जीवन जगाउँछ, त्यही देखिन्छ
हरेक असम्भव भित्र सम्भव लुकेको हुन्छ। सिर्जनात्मकता पनि यिनै कुरा बुझेर सुरु हुन्छ। जब
हाम्रो विचारहरू निश्चित ढाँचाबाट बाहिर निस्कन्छन् र हामीले आफ्ना अनुभूति, अनुभव र
वरिपरिको यथार्थलाई जोड्न थाल्छौं, तब सिर्जना जन्मिन्छ। सिर्जनात्मकता केवल कविता लेख्नु,
चित्र कोर्नु वा संगीत बजाउनु मात्र होइन यो त समस्याको समाधान खोज्न सक्ने दृष्टिकोण हो।
हामीले हरेक कुरालाई विभिन्न तरिकाबाट हेर्न, बुझ्न, सोच्न र मूल्याङ्कन गर्न जान्नुपर्छ। चाहे
जुनसुकै कुरा होस् हाम्रो मूल्याङ्कन एकदमै हलुङ्गो र फितलो हुन्छ। हामी माथिमाथि बग्न
खोज्छौ। हामीले जुन कुरा देखेका छौं, त्यो सत्य नै हुनुपर्छ भन्ने ठान्छौं। के भिडियोमा नाच्ने ती
नृत्यकारहरूले गीत आफैं लेख्दै, गाउँदै, नाच्दै गरेका हुन् त? जुन बाहिरबाट बिग्रिएको जस्तो
देखिने केरा के साँच्चै भित्री कुदी पनि बिग्रिएको हुन्छ त? हामीले आफ्नो सोच संकुचित पार्यौ वा
संकुचित बनाउँदै गयौ भने त्यसले मानसिक दुर्घटना ननिम्त्याउला भन्न सकिँदैन। हामीले जति
आफ्नो सोचलाई फराकिलो बनाउँछौं उति नै सिर्जनाका दानाहरु जन्मिन्छन् र ती दानाहरुलाई
हामीले बिना कसैको दबाब सही ठाउँमा छर्न वा प्रयोग गर्न सक्छौ। एउटा +२ पढ्दै गरेको
छोरालाई बुबाले, बाबु अन्त दायाँबायाँ केही नगरी तैले जसरी पनि उत्कृष्ट नतिजा हासिल
गर्नैपर्छ भन्नु र बाबु तैले आफ्नो पढाइलाई विशेष ध्यान राखी आफ्नो रुचि र इच्छुक विधालाई
पनि सँगसँगै लगिस भने आगामी दिनहरु तेरो उज्ज्वल हुन्छ भनेर भन्नुमा धेरै अन्तर देखिन्छ।
त्यसैले हामी पर्दा अगाडिको भन्दा पनि पर्दा पछाडिको सफल व्यक्ति बन्न कोसिस गर्नुपर्छ ना
कि हामीलाई कसैले देखेर भन्दा पनि हामीभित्र भिजेर/पसेर मूल्याङ्कन गर्न सकोस्। त्यसैले
जब सोच फराकिलो हुन्छ तब मानिसले असम्भव जस्तो लाग्ने कुरामा पनि सम्भावना देख्न
थाल्छ। यही सोचले सकारात्मक परिवर्तन ल्याउँछ।
फराकिलो सोच भनेको एउटा खुला आकाशजस्तै हो, जहाँ सीमाहरू हुँदैनन्, केवल सम्भावनाका
ताराहरू चम्किरहेका हुन्छन्। यस सोचले मानिसलाई सानो घेरा भित्र सीमित हुन दिँदैन; बरु
उसलाई आफ्ना विचार, क्षमताहरू र अवसरहरूको नयाँ आयामहरूमा लैजान्छ।हामीले अरुको

दृष्टिकोण सुन्ने, बुझ्ने र स्वीकार गर्ने बानी बसाल्नुपर्छ। चाहे उनीहरुले आफू जस्तो नसोचे पनि
विभिन्न पृष्ठभूमिका मानिसहरूसँग कुराकानी गर्नुपर्छ। हामीले जति फरक विचारहरू भेट्छौं
उतिनै हाम्रो सोच फराकिलो हुन्छ। हामीले कहिलेकाहीँ आफ्नो सोचको चुनौती गराउने प्रश्नहरु
आफैले आफैलाई सोध्नुपर्छ। जस्तै: के म जे सोच्दै छु त्यो सधैं सही हुन्छ?, म यसबारे अझ गहिरो
रुपमा बुझ्न के गर्न सक्छु? के म कुनै सोचमा धेरै संकुचित छैन? इत्यादि। अर्को महत्वपूर्ण कुरा
भनेको हामीले आलोचना ग्रहण गर्ने साहस राख्नुपर्छ। आलोचनाबाट सिक्ने हो, रिसाउने होइन।
हामीले कुनै पनि कुराकानीलाई विवाद होइन, संवादको शैली रोज्नुपर्छ। त्यसैले यथार्थ जहिले
मिठो हुँदैन,कहिलेकाहीँ कठोर, कहिले असहज पनि हुन्छ। तर प्रकृतिले हामीलाई सिकाउँछ:
वसन्त आउने हो भने हिउँद सहनुपर्छ। त्यसैले फराकिलो सोचको यात्रा यथार्थसँग जुध्ने होइन,
त्यसलाई बुझेर र आत्मासात गरेर अघि बढ्नु हो। सकारात्मक सम्भावनाहरु त हावामा
लहराउँदै छन्, सिर्जनात्मक सोच हाम्रो भित्र लुकेको छ र यथार्थ हाम्रो पाइला टेक्ने जमिन
हो।अब आवश्यकता केवल एउटै हो :प्रकृतिसँग हिँड्ने, लय समात्ने र आफूभित्र लुकेको
उज्यालोलाई संसारसामु ल्याउने।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय