काठमाडौँ :उपाधि दाबेदार पोर्चुगललाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा भएको रोमाञ्चक ’राउन्ड अफ १६’ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन अन्तिम आठमा पुगेको हो।
तस्वीर /एपि
स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो। उनले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेका थिए। खेलभरि बल पोजिसन र सर्ट प्रहार दुवैमा स्पेन पोर्चुगलभन्दा अघि रह्यो।
यो हारसँगै पोर्चुगलको विश्वकप यात्रा अन्तिम १६ मा नै टुङ्गिएको छ। यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो ।
अर्कोतर्फ, स्पेनले १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको हो। सन् २०१० मा विश्व च्याम्पियन बनेयता स्पेन क्वार्टरफाइनलमा पुग्न सकेको थिएन। सन् २०१४ मा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ मा अन्तिम १६ मा रोकिएको थियो।






