काठमाडौं । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले सहिद परिवारका सदस्यलाई मन्त्रालयमा हप्काएपछि उनीहरू आन्दोलित भएका छन् । सहिद परिवारका केही सदस्यहरू आइतबार बिहान १० बजे मधेस सरकारसँग आफ्ना माग लिएर मन्त्रालय पुगेका बेला मन्त्री लेखीले हप्काएका थिए ।

गृहमन्त्री लेखीले आफूहरूलाई गाली गर्दै हप्काएर मन्त्रालयबाट निकालेको मधेस सहिद प्रतिष्ठानका सदस्य अवधेश यादवले बताए । गाली गर्दै मन्त्रालयबाट हप्काएर पठाएपछि मन्त्रालयको अगाडि आफूहरू अनसन बसेको उनले बताए ।

अहिले मधेस सहिद प्रतिष्ठानमा दुई जना सदस्य खाली छन् । सो सङ्गठनमा सहिद परिवारबाटै सदस्य राख्नका लागि केही महिनादेखि उनीहरूले मधेस सरकारलाई आग्रह गर्दै आइरहेका छन् । तर सरकारले भने आफूहरूको प्रस्ताव टार्दै आएको उनले गुनासो गरे । सरकारसमक्ष नियुक्तिका लागि निर्णयसहित निवेदन दिएको समेत उनले बताए ।

यस विषयमा मुख्यमन्त्री सतिशकुमार सिंहलाई पनि जानकारी गराइसकिएको उनले बताए । मुख्यमन्त्रीलाई पनि यसका बारेमा सबै जानकारी रहेको यादवले बताए । ‘मुख्यमन्त्री सिंहसँग भेट्दा उनले एक दुई दिनमै गर्ने भनेको १५ दिनभन्दा बढी भइसक्यो तर अहिले त्यस विषयमा कुरा गर्नका लागि भेट्न समेत चाहँदैनन्’ यादवले गुनासो गरे ।

उनीहरू मधेस सहिद प्रतिष्ठानको रिक्त पदमा नियुक्त गर्नुपर्ने, हरेक सहिद परिवारलाई रोजगारी दिनुपर्ने र सबैको स्वास्थ्य बिमा हुनुपर्ने माग राखेर आन्दोलनमा उत्रिएका छन् । उनले माग पुरा नभएसम्म फर्केर नजाने समेत चेतावनी दिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय