काठमाडौं, असोज ५ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले पार्टीभित्रको निरन्तर आलोचना र नेतृत्त्वको दबाबका कारण राजीनामा दिएकी छन्। पार्टी स्रोतका अनुसार, श्रेष्ठलाई बैठकहरूमा पटक–पटक अपमानजनक टिप्पणी गर्ने र असहज वातावरण सिर्जना गर्ने काम भएकाले उनी अन्ततः पार्टी छोड्न बाध्य भएकी हुन्।
रास्वपाका नेता हरि ढकालले श्रेष्ठलाई लक्षित गर्दै “बाघका छालामा स्यालका रजाईं” भन्दै बैठकमै खिस्याउने गरेका थिए। ढकालले बारम्बार “सुमना श्रेष्ठ सांसद बन्नुमा रवि लामिछानेकै योगदान रहेकाले आफ्नो हैसियत नबिर्सिनुपर्ने” भन्ने टिप्पणी दोहोर्याउने गरेको स्रोतले जनाएको छ।
यस्ता प्रकारका व्यवहार एकपटक मात्र नभई पाँच–सात पटकसम्म दोहोरिएको बताइएको छ। निरन्तर यस्ता कटाक्ष र दबाबपछि श्रेष्ठ पार्टीभित्र नैतिक रूपमा बस्न असहज महसुस गर्न पुगेकी थिइन्।
स्रोतका अनुसार, ढकालको विवाद केवल श्रेष्ठसँग मात्र सीमित थिएन। उनी बैठककै क्रममा अर्का नेता गणेश कार्कीसँग पनि चर्काचर्कीमा उत्रिएका थिए। पछि ढकालले कार्कीसँग गल्ती स्वीकार गर्दै माफी मागे पनि, श्रेष्ठप्रति भने निरन्तर आलोचना भइरह्यो।
यसै कारण सुमना श्रेष्ठले पार्टीभित्रको वातावरण आफूलाई अनुपयुक्त भएको ठहर गर्दै अन्ततः राजीनामा दिने निर्णय लिएकी हुन्। उनका अनुसार, केही नेताहरूको व्यक्तिगत टिप्पणी र अनावश्यक दबाबका कारण उनले अब पार्टीमा काम गर्न सक्ने अवस्था नरहेको महसुस गरिन्।
यो घटनाले रास्वपाभित्रको आन्तरिक असहमति र नेताबीचको खटपट पुनः सतहमा आएको छ। नेतृत्वमैतिको असहमति र असहज वातावरणका कारण भविष्यमा पार्टीभित्र थप अस्थिरता बढ्न सक्ने आशंका पनि गरिएको छ।