काठमाडौँ । देशका विभिन्न जिल्लामा फैलिएको घातक पन्छी रोग ‘बर्डफ्लु’ सातवटा जिल्लामा पूर्ण रूपमा नियन्त्रणमा आए पनि सङ्घीय राजधानी काठमाडौँसहित उपत्यकामा भने अझै नियन्त्रणमा आउन सकेको छैन। पशुसेवा विभागका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा यो रोगको सङ्क्रमण अझै पनि कायमै रहेकाले यी चार जिल्लालाई उच्च निगरानीमा राखिएको छ।
यसअघि बर्डफ्लु पुष्टि भएका झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा भने सङ्क्रमण पूर्ण रूपमा नियन्त्रणमा आइसकेको विभागले जनाएको छ।
रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा विशेष प्राविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका पन्छी, अण्डा, दाना तथा पन्छीजन्य सामग्रीहरू नष्ट गरेर सुरक्षित व्यवस्थापन गरिएको विभागका प्रवक्ता डा. मुकुल उपाध्यायले जानकारी दिए। सङ्क्रमण फैलिन नदिन पशु क्वारेन्टाइन कार्यालयहरूले सीमा नाकामा उच्च सतर्कता अपनाउँदै अवैध रूपमा ओसारपसार गरिएका पन्छीहरू समेत बरामद गरी नष्ट गरेका थिए।
हाल सङ्क्रमण नियन्त्रणमा आएका जिल्लाहरूमा पन्छीको ओसारपसारमा गरिएको कडाइलाई केही खुकुलो बनाइएको छ। विभागले पन्छीपालक किसानहरूलाई जैविक सुरक्षामा विशेष ध्यान दिन र शङ्कास्पद लक्षण देखिएमा तुरुन्त जानकारी गराउन आग्रह गरेको छ।






