काठमाडौँ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवामाथि सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको छ।

 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीरलाई पत्र काट्दै बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको हरिहरभवनस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको हो।

विभागको टोलीले सोमबार बुढानीलकण्ठ नगरपालिका वडा नम्बर २ स्थित देउवा निवासमै पुगेर उक्त सूचना टाँस गरेको छ। सूचनामा तोकिएको समयभित्र उपस्थित नभए कानुन बमोजिम कडा कारबाही प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ। यसबारे बुढानीलकण्ठ-२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले देउवा परिवारलाई जानकारी गराइसकेको पुष्टि गर्नुभएको छ। यो सूचना आजको गोरखापत्र दैनिकमा समेत प्रकाशित छ।

विभागले यसअघि नै पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणामाथि पनि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दामा अनुसन्धान सुरु गरिसकेको छ। आरजु राणामाथि ई-पासपोर्ट प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ।

गम्भीर कुरा त के छ भने, छानबिन तीव्र बनेकै बेला देउवा दम्पती र उनका छोरा विगत चार महिनादेखि हङकङमा रहँदै आएका छन्। गत चैत ६ गते ‘उपचार र पारिवारिक कार्यक्रम’का लागि भन्दै हङकङ उडेका उनीहरू, एक हप्तामा फर्कने बताइए पनि हालसम्म स्वदेश फर्किएका छैनन्। अनुसन्धानको घेरा कसिँदै जाँदा देउवा परिवार विदेशमै रोकिनुलाई राजनीतिक र कानुनी वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय