कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा १६ औँ अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइरहँदा प्रदेश अस्पतालको शवगृहमा एक किशोरीको शव पोस्टमार्टमको प्रतीक्षामा थियो ।  त्यो शव थियो, गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भई हाल वीरेन्द्रनगर–१ मा बस्दै आएकी १६ वर्षीया इनिसा विकको । इनिसा फागुन २३ गते बिहान वीरेन्द्रनगर–४, शहीद पार्क नजिकको जनजागरण सामुदायिक वनमा बेहोस अवस्थामा फेला परेकी थिइन् ।

२३ गते, शनिबार बिहान ६ बजेको थियो । इनिसा ‘ट्युसन पढ्न जान्छु’ भन्दै तयार भइरहेकी थिइन् । उनकी आमा तिला विकले ‘आज शनिबार हो, नजाऊ गुर्भाकोट घर जानुछ’ भन्दै रोक्न खोजिन् । तर, इनिसाले २ घण्टाभित्र फर्किहाल्ने भन्दै जिद्दी गरेर घरबाट निक्लिइन् ।

उनी वीरेन्द्रनगर–६ मा रहेको उषा बालबाटिका स्कुलमा कक्षा ११ मा पढ्थिन् । बिहान ८ बजे फर्किसक्ने भनेर घरबाट निस्किएकी छोरी ९ बजेसम्म नआएपछि आमाले फोन गरिन् । तर फोन स्वीच अफ थियो । ‘स्कुलमा पनि फोन गरेँ तर फोन उठेन । कम्प्युटर पढाउने माधव सरको फोन पनि अफ थियो,’ इनिसाकी आमा तिला भन्छिन् ।

केही समयपछि बिरानो नम्बरबाट फोन गर्दै कसैले भन्यो ‘तपाईंकी छोरी शहीद पार्कको जङ्गलमा बेहोस अवस्थामा छिन् । छिटो लिन आइहाल्नुस् ।’ तिला सानो छोरा च्यापेर हतारिँदै शहीद पार्क पुगिन् । उनका अनुसार इनिसाको शरीर रक्ताम्मे थियो । कपाल लुछिएको, घाँस मडारिएको थियो । एकातिर जुत्ता, अर्कोतिर मोजा थियो ।  खोल्सातिर सुतेकी इनिसाको शरीरमा कपडा थिएन । कालो ज्याकेटले छोपेको थियो । ‘कालो ज्याकेट हटाउँदै प्रहरीले छोरीको अनुहार देखायो । छातीभरि नीलडाम थिए,’ तीलाले भक्कानिँदै भनिन्, ‘छोरीको त्यो अवस्था देखेपछि मेरा शरीर काँप्न थाल्यो । आँखा तिरमिराउन थाले । म त्यहीँ बेहास भएछु । प्रहरीले छोरीलाई अस्पताल पुर्‍याएको पनि थाहा पाइनँ ।’

यता इनिसाका बुवा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि रोजगारीका लागि दुबईमा छन् । पछिल्लो ६ वर्ष यता दुबईको सेनामा कार्यरत उनी छुट्टिमा घर आएर एक महिना अगाडि मात्रै दुबई गएका थिए ।

छोराछोरीको सुन्दर भविष्यका लागि भन्दै इन्द्रबहादुर विदेशिए । छोराछोरी पढाउन भनेर तीला पाँच वर्षयता वीरेन्द्रनगरमा बस्दै आएकी थिइन् । इनिसा पढाइमा राम्रो विद्यार्थी थिइन् । विज्ञान विषय लिएर पढिरहेकी उनी डाक्टर बन्न चाहन्थिन् । बुवा–आमाको सपना पनि छोरी डाक्टर बनेको देख्नु थियो । घरमा इनिसाकी आमा पनि विक्षिप्त छिन् । दुबईको एअरपोर्टमा अलपत्र बुवा इन्द्रबहादुर कहिले नेपाल आउने टुंगो छैन । चन्द्रबहादुर र उनका ४–५ जना साथीहरू न्यायको पर्खाइमा जिल्ला प्रहरी कार्यालय धाइरहेका छन् । ‘घर जाउँ फुपुको हालत हेर्ने हिम्मत छैन । प्रहरीकोमा जाउँ चित्तबुझ्दो जवाफ आउँदैन’, जिप्रका अगाडि चौरमा बसिरहेका चन्द्रबहादुरले भने, ‘यसरी धाउन थालेका आज चार दिन भयो

जिल्लाका अधिकारवादी संघसंस्थाले यस घटनामा चासो देखाएका छन् । उनीहरुले गम्भीर अनुसन्धान र दोषीलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयलगायत निकायमा ध्यानाकर्षण पत्र बुझाएका छन् । उक्त घटनालाई अत्यन्त दु:खद, अमानवीय र निन्दनीय भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय