नेपाल वायुसेवा सञ्चालक संघ (बार्न) को अध्यक्षमा अनिल घिमिरे निर्वाचित भएका छन्। ललितपुरको गोदावरीमा हालै सम्पन्न संघको ३०औँ र ३१औँ वार्षिक साधारण सभाले २०२६-२०२८ कार्यकालका लागि घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

‘उत्थानशील आकाश, साझा दृष्टिकोण’ मूल नाराका साथ सम्पन्न साधारण सभाले आगामी दुई वर्षका लागि नयाँ पदाधिकारी तथा सदस्य समेत सर्वसम्मत चयन गरेको छ ।

संघको प्रथम उपाध्यक्षमा भोला विक्रम थापा (इन्डिगो), द्वितीय उपाध्यक्षमा अवित श्रेष्ठ (एओसीएन), महासचिवमा सारिक बोगटी (कतार एयरवेज) र कोषाध्यक्षमा नवराज शाही (फ्लाई दुबई) निर्वाचित भएका छन्।

त्यस्तै, नेपालमा उडान भर्ने (अनलाइन) वायुसेवाहरूका तर्फबाट कार्यसमिति सदस्यहरूमा सेर्कान बासार (टर्किस एयरलाइन्स), जुनु मलेकु (क्याथे प्यासिफिक), धिरज चन्द्र श्रेष्ठ (चाइना साउदर्न एयरलाइन्स), सन्तोष विक्रम राणा (थाई एयरवेज) र तृप्ति क्षेत्री (मलेसिया एयरलाइन्स) चयन भएका छन्।

यसैगरी संघको विधान बमोजिम नवनिर्वाचित अध्यक्ष घिमिरेले नेपालमा कार्यालय रहेका तर उडान नभएका (अफलाइन) वायुसेवाहरूका तर्फबाट रमेश लामिछाने (इमिरेट्स) र बासु लामिछाने (फिट्स एयर) लाई कार्यसमिति सदस्यमा मनोनयन गरेका छन्।

सन् १९९० मा स्थापना भएको बार्न नेपालमा सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवाहरूको छाता संगठन हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय