प्रहरीको गोली लागेर मृत्यु भएका सिरहाको गोलबजारका किशोर गणेश यादवको परिवारलाई मधेस प्रदेश सरकारले घर बनाइदिने भएको छ। गणेशको मृत्युपछि कमजोर आर्थिक अवस्थाबाट गुज्रिरहेको परिवारलाई प्रदेश सरकारले आवास निर्माण गरिदिने निर्णय गरेको हो।

मधेस प्रदेश सरकारको ‘विपन्नसँग मदन भण्डारी आवास योजना’ अन्तर्गत गणेशका परिवारका लागि दुई कोठे घर, भान्सा र शौचालय निर्माण गरिने भएको छ।

यससम्बन्धी सहमति शुक्रबार मधेस प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री मनोजकुमार सिंह र मृतक गणेशका परिवारबीच भएको हो। मृतकका बुवा रामवृक्ष यादव, भौतिक पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादव, औरही गाउँपालिका–२ का वडाध्यक्ष रामअयोध्या यादवसहित स्थानीय समाजसेवी तथा अगुवाहरूको उपस्थितिमा लिखित सहमति समेत गरिएको छ।

‘घर बनाएर सरकारको उपस्थिति देखाउनुपर्छ’

घटनापछि गणेशको परिवारलाई भेट्न पुगेका मन्त्री सिंहले परिवारको आर्थिक अवस्था कमजोर रहेको पाएका थिए। त्यसपछि परिवारलाई आवासको व्यवस्था गर्नुपर्ने प्रस्ताव उनले प्रदेश सरकारको बैठकमा राखेका थिए।

मन्त्री सिंहका अनुसार परिवारले आफ्नो जग्गा उपलब्ध गराएपछि घर निर्माणको काम तत्काल अघि बढाइनेछ। यसका लागि प्रदेश सरकारले आवश्यक बजेटसमेत विनियोजन गरिसकेको छ।

५ लाख ४६ हजार रुपैयाँ बजेट

भौतिक पूर्वाधार विकास कार्यालय सिरहाका इन्जिनियर रामनारायण यादवका अनुसार गणेशका बुवा रामवृक्ष यादवका लागि रंगरोगनसहित दुई कोठे भवन, किचेन र शौचालय निर्माण गर्न ५ लाख ४६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ भित्रै निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ।

गणेशको परिवारलाई घर निर्माण गरिदिने प्रदेश सरकारको निर्णयले गोलीकाण्डपछि आर्थिक तथा सामाजिक रूपमा प्रभावित परिवारलाई राहत पुग्ने अपेक्षा गरिएको छ। यद्यपि, परिवारले आफ्ना छोराको मृत्युको घटनाबारे न्याय र सत्यतथ्यको मागसमेत उठाउँदै आएको अवस्थामा आवास निर्माणसँगै घटनाको निष्पक्ष छानबिन र न्यायको विषय पनि महत्वपूर्ण रहने देखिन्छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय