नेपालमा दुई महिनापछि सन् २०२४ को लागि पर्यटनको मुख्य सिजन सुरू हुँदैछ । सन् २०२४ को सेप्टेम्बरदेखि नोभेम्बरसम्मको लागि आएको बुकिङ विगतका वर्षहरूको तुलनामा राम्रो देखिएकाले विगतको तुलनामा यो वर्षको पर्यटकीय सिजन उत्साहप्रद हुने सम्बन्धित पर्यटन व्यवसायीले बताएका छन्

सन् २०१९ को कोभिड महामारीपछि तङ्ग्रिन गाह्रो भएको पर्यटन उद्योगमा बिस्तारै आकर्षण बढ्दै गएको पछिल्लो समयको बुकिङले देखाएको छ । सन् २०२४ को पर्यटकीय सिजनका लागि ठूला पाँचतारे होटलका ७० देखि ८० प्रतिशत कोठा बुकिङ भइसकेका छन् ।

नेपालमा सन् २०१९ मा अहिलेसम्मकै धेरै करिब १२ लाख पर्यटक भित्रिएका थिए । त्यतिबेला देखिएको उत्साहभन्दा अहिलेको अवस्था शून्य (जिरो) मा पुगेर उठेको भन्दै व्यवसायीले उत्साह व्यक्त गर्न थालेका छन् । कोभिड अगाडिको तथ्यांक ‘ब्रेक’ गरेर नयाँ रेकर्ड बनाउने अवसरका रूपमा सन् २०२४ हुन सक्ने अनुमान नेपालका पर्यटन व्यवसायीले गरेका छन् ।

पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को पहिलो सात महिना (जनवरी–जुलाई) मा ६ लाख ९२ हजार पर्यटक नेपाल भित्रिएका छन्। यो पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब ७ प्रतिशतले बढी हो ।

अबको ५ महिनामा गत वर्ष सन् २०२३ को तुलनामा १० प्रतिशतले मात्रै बढेको अवस्थामा पनि विगतमा भित्रिएको रेकर्ड ब्रेक हुने अनुमान पर्यटन क्षेत्रले गरेको छ ।

गत वर्ष सन् २०२३ मा कुल ११ लाख ५८ हजार पर्यटक हवाई मार्ग हुँदै नेपाल आएका थिए। सन् २०२४ को सात महिनामा करिब सात लाख आइसकेको र गत वर्षको पछिल्लो ५ महिनाको तथ्यांकअनुसार ५ लाख १० हजार पर्यटक आएका थिए ।

यो वर्ष गत वर्षको पछिल्लो ५ महिनाको तुलनामा १० प्रतिशतले मात्रै वृद्धि हुँदा नेपालमा करिब साढे १२ लाख पर्यटक आउने देखिएको पर्यटन व्यवसायीले बताएका छन् ।

‘आगामी अक्टोबर र नोभेम्बर महिना अत्यन्तै उत्साहजनक हुने सङ्केत देखिएको छ। अहिले अफ सिजन भए पनि आगामी सिजनको लागि पर्यटकहरूको सोधपुछ र बुकिङ निकै राम्रो रहेको देखिन्छ,’ होटल संघ नेपाल (हान) का महासचिव साजन शाक्य भन्छन्, ‘आगामी अक्टोबर–नोभेम्बरमा नेपालभरिका होटलहरूमा ७० देखि ८० प्रतिशतसम्म अकुपेन्सी रहने हाम्रो अनुमान छ। यसपालि बुकिङहरू निकै राम्रो देखिएका छन् ।’

नेपालमा भारतीय र चिनियाँ पर्यटकको आगमन उल्लेख्य मात्रामा बढिरहेको र ट्रेकिङ जाने टुरिस्टहरूको पनि राम्रो चाप हुने उनको अनुमान छ ।

‘भारतीय पर्यटकहरूका लागि हाम्रा बाटाहरू पनि धेरै हदसम्म सुध्रिएका छन्। काठमाडौं–पोखरा जस्ता सडक र फ्लाइट कनेक्टिभिटीले गर्दा पर्यटकको सङ्ख्या बिस्तारै बढिरहेको छ,’ उनले भने ।

नेपालमा मेरियट, हिल्टन, हायात जस्ता विश्वविख्यात ब्रान्डका होटलहरू थपिने क्रमले पर्यटन बजारमा क्वालिटी टुरिस्ट बढ्ने आधारसमेत देखाएको शाक्यको बुझाइ छ। पछिल्लो समय मुस्ताङको सिन्तामणि होटल विश्वकै लक्जरी रिसोर्टको पहिलो नम्बरको सूचीमा परेकाले यसले दिने सन्देश पनि सकारात्मक भइरहेको छ।

‘ब्रान्ड होटलहरू आउनु भनेको उनीहरूको आफ्नै नेटवर्कका क्वालिटी टुरिस्टहरू नेपाल आउनु हो। यसले नेपालको पर्यटन विकासमा धेरै ठूलो सहयोग पुग्छ। अहिले पर्यटन क्षेत्रमा एउटा राम्रो भाइब देखिएको छ,’ शाक्यले भने।

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमारमणि थपलिया पर्यटन लयमा आउन लाग्दा पश्चिम एसियाको तनावले असहजता थपिदिएका कारण अपेक्षाअनुसार पर्यटक भित्र्याउन सकिएको छैन।

‘नेपालको पर्यटकीय गन्तव्यमा थोरै सकारात्मक सन्देश प्रवाह हुँदा सकारात्मक प्रभाव पार्ने नै गरेको छ। आगामी सिजनको लागि अहिले नै ठ्याक्कै प्रतिशत यति नै भन्न नसकिने भए पनि सकारात्मक सङ्केत भने देखिएको छ,’ थपलियाले भने।

नाट्टाका महासचिव युविका भण्डारीले यो वर्षको अफ सिजनमा देखिएको सकारात्मक वृद्धिले आगामी सिजनलाई पक्कै राम्रो गर्ने संकेत देखिएको बताइन् । राम्रो बुकिङ आइरहेकाले समग्रमा पर्यटन उद्योगले नै सकारात्मक अपेक्षा गरिरहेको भण्डारीको तर्क छ।

पर्यटन क्षेत्रको पुनरुत्थानका लागि राष्ट्रिय ध्वजावाहक नै बलियो हुनुपर्ने

नेपालको पर्यटन पुनरुत्थान गर्न र बलियो अर्थतन्त्रको आधार बनाउन राष्ट्रिय ध्वजाबाहकसँग पर्याप्त जहाज हुनुपर्ने नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईंले बताए।

उनका अनुसार आगामी पर्यटकीय सिजन (सेप्टेम्बर–अक्टोबर) का लागि होटल तथा भ्रमण बुकिङमा उत्साहजनक वृद्धि देखिएको छ। पर्यटन क्षेत्रको दीर्घकालीन विकासका लागि राष्ट्रिय ध्वजावाहक (नेपाल एयरलाइन्स) को सुदृढीकरण र पूर्वाधार निर्माण मुख्य चुनौतीका रूपमा रहेको पर्यटन व्यवसायी गुरागाईंको भनाइ छ।

पछिल्लो समय देशमा राजनीतिक स्थायित्वको सन्देश जानु र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले नेपालका पर्यटकीय स्थलहरूको व्यापक प्रचारप्रसार गर्नुले विदेशी पर्यटकको आगमन र बुकिङ बढाएको छ। अक्टोबर र नोभेम्बर महिनाका लागि प्रमुख होटलहरूमा कोठा (रुम) पाउनसमेत धौ-धौ भइरहेको व्यवसायीले बताएका छन्।

अन्तर्राष्ट्रिय उडानका लागि नेपाल एयरलाइन्ससँग पर्याप्त जहाज नहुँदा त्यसको प्रत्यक्ष लाभ विदेशी वायुसेवा कम्पनीहरूले उठाइरहेका छन्। निजी क्षेत्रले होटल र अन्य पूर्वाधारमा ठूलो लगानी गरिसकेको भए पनि सरकारी स्तरबाट राष्ट्रिय ध्वजावाहकका लागि जहाज थप्ने र सेवा विस्तार गर्ने ठोस कदम नचालिएको तर्क पर्यटन व्यवसायीको छ।

चीन, भारत र अमेरिकाजस्ता ठूला बजारहरूबाट पर्यटक ल्याउन पर्याप्त र सुलभ उडानको व्यवस्था नहुँदा सम्भावनाअनुसार पर्यटक भित्र्याउन नसकिएको पर्यटन व्यवसायीहरूले गर्दै आएको गुनासोलाई सरकारले सम्बोधन गर्नुपर्ने सुझाव पनि शाक्यले दिए।

हाल मुग्लिन–काठमाडौं सडक खण्डको स्तरोन्नति र क्षेत्रीय पूर्वाधारको विकासले आन्तरिक आवागमन सहज बनाएको भए पनि नेपाल पर्यटन बोर्ड र मन्त्रालयले अन्तर्राष्ट्रिय बजारमा थप प्रभावकारी प्रवर्द्धन गर्नुपर्नेमा व्यवसायीहरूले जोड दिएका छन्।

‘नेपालको पर्यटन सोच र लक्ष्य नै सानो राखेर ठूलो लक्ष्यमा पुग्न सकिँदैन’

नेपालले पर्यटन क्षेत्रको प्रवर्द्धनका लागि तय गर्ने लक्ष्य र मापदण्ड नै निकै सानो भएकाले सोचेअनुसार पर्यटक आगमन वृद्धि हुन नसकेको होटल व्यवसायी शशिकान्त अग्रवालले बताएका छन्।

अग्रवालले आगामी सेप्टेम्बर र अक्टोबर जस्ता मुख्य सिजनमा केही पर्यटक आगमन बढ्दैमा समग्र वर्षभरिकै पर्यटन फस्टाएको भनेर मूल्याङ्कन गर्न नमिल्ने भएकाले सरकारले सोच र लक्ष्य नै ठूलो बनाउनुपर्ने बताए।

पछिल्लो समय मकाउका साना पर्यटकीय गन्तव्यहरूले वार्षिक ९३ प्रतिशतसम्म होटल अकुपेन्सी हासिल गरिरहेको उदाहरण दिँदै अग्रवालले भने, ‘नेपालले पनि कम्तीमा ३० लाख (३ मिलियन) पर्यटक ल्याउने दीर्घकालीन आधार बनाएर जानुपर्ने हुन्छ।’

अग्रवालका अनुसार नेपालमा पर्यटकीय गन्तव्यहरूको कमी नभए पनि तिनको सही ‘स्टोरी टेलिङ’ र अन्तर्राष्ट्रिय बजारीकरण हुन सकेको छैन। नेपाल सरकार, पर्यटन मन्त्रालय र नेपाल पर्यटन बोर्डले गर्ने प्रचारप्रसारको परम्परागत शैली निकै कमजोर रहेकाले विश्वबजारमा नेपाललाई पर्यटकीय ब्रान्डका रूपमा स्थापित गर्न ठूला अन्तर्राष्ट्रिय एजेन्सीहरूलाई जिम्मा दिनुपर्ने अग्रवालको सुझाव छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय