युरोपेली फुटबल महासंघ (युइएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोप्रतिको आफ्नो अविश्वास अझै कायम रहेको जनाएको छ। 

इंग्लिस फुटबल एसोसिएसन (एफए) ले इन्फान्टिनोलाई दिएको समर्थन फिर्ता लिए पनि फिफाको पछिल्लो स्पष्टीकरणले आफ्नो धारणा परिवर्तन नगरेको युइएफएले स्पष्ट पारेको छ।

युइएफएले आवश्यक परे फिफा विश्वकपसहितका प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगिता बहिष्कार गर्ने विकल्प अझै टेबलमा रहेको संकेत दिएको छ।

निजी लगानीकर्तालाई विश्वकपजस्ता प्रतियोगितामा हिस्सेदारी बेच्ने प्रस्ताव पूर्ण रूपमा फिर्ता लिनुका साथै भविष्यमा यस्ता प्रयास दोहोरिने छैनन् भन्ने स्पष्ट प्रतिबद्धता चाहिएको यूईएफएको भनाइ छ। यी दुवै सर्त पूरा नभएकाले इन्फान्टिनोप्रतिको विश्वास फर्किन नसकेको उसले जनाएको छ।

विवादको केन्द्रमा रहेको ‘फिफा फर्वार्ड इन्टरप्राइज (एफएफई)’ योजनामार्फत पुरुष र महिला विश्वकपलगायतका प्रतियोगितामा निजी लगानी भित्र्याउने प्रस्ताव अघि सारिएको थियो।

त्यसको समर्थन गरे प्रत्येक सदस्य संघलाई ४० मिलियन अमेरिकी डलर उपलब्ध गराउने योजना रहेको बताइएको थियो। तर व्यापक विरोधपछि फिफाले प्रक्रिया सञ्चालनमा कमजोरी भएको स्वीकार गर्दै प्रस्ताव अघि नबढाउने निर्णय गरेको थियो।

यद्यपि युइएफएले फिफाको माफीलाई पर्याप्त मानेको छैन। अध्यक्ष इन्फान्टिनोका निकट अधिकारीहरूले मात्र समर्थन जनाउँदै विज्ञप्ति जारी गर्नुले विवाद समाधान नहुने उसको धारणा छ।

प्रस्ताव कसले तयार गर्‍यो, प्रक्रिया कति पारदर्शी थियो र त्यसबाट कसैलाई व्यक्तिगत लाभ पुग्ने अवस्था थियो कि थिएन भन्ने प्रश्नको स्पष्ट जवाफ अझै नआएको युइएफएको दाबी छ।

इन्फान्टिनोविरुद्ध युरोपेली फुटबल उभिए पनि विश्व फुटबलमा भने उनी अझै बलियो देखिएका छन्। दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल), अफ्रिकी फुटबल महासंघ (काफ), मेक्सिको र अर्जेन्टिनाका फुटबल संघले सार्वजनिक रूपमा उनको समर्थन गरेका छन्।

 

युइएफएसँग इन्फान्टिनोविरुद्ध अविश्वास प्रस्ताव ल्याउने, विशेष कांग्रेस बोलाउने वा आगामी अध्यक्षीय निर्वाचनमा साझा उम्मेदवार उतार्ने विकल्प छन्। तर फिफाका २ सय ११ सदस्य संघमध्ये बहुमत समर्थन जुटाउन चुनौतीपूर्ण देखिएकाले विश्वकप बहिष्कारको विकल्पलाई पनि उसले खुला राखेको छ।

पोल्यान्डमा सेप्टेम्बर ५ देखि सुरु हुने फिफा यु २० महिला विश्वकपमा इंग्ल्यान्डसहित ६ युरोपेली टोली सहभागी हुनेछन्। त्यसअघि युइएफएले आफ्नो चेतावनीलाई व्यवहारमा उतार्छ वा कूटनीतिक प्रयासलाई निरन्तरता दिन्छ भन्ने विषय विश्व फुटबलको प्रमुख चासो बनेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय