चितवन :चितवनको निकुञ्ज र बस्ती आसपासको क्षेत्रमा आतङ्क मच्चाउँदै आएको जङ्गली हात्ती ‘ध्रुवे’ लाई नियन्त्रणमा लिएर दाह्रा काटिने र नयाँ रेडियो कलर जडान गरिने भएको छ ।
गत शनिबार राति भरतपुर महानगरपालिका–२३ मा २१ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको ज्यान लिएपछि निकुञ्ज प्रशासनले यो तयारी थालेको हो । आमाछोराको ज्यान लिएपछि ध्रुवेको निरन्तर अनुगमन भइरहेको र फेला पर्नासाथ ‘डार्ट’ (बेहोस) गरेर दाह्रा छोटो पारिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिनुभयो ।
यसअघि दुई वर्षअघि पनि ध्रुवेको दाह्रा काटिएको थियो । दाह्रा छोटो बनाउँदा हात्तीको आक्रमण गर्ने क्षमता र आक्रामकता कम हुने विश्वास गरिन्छ । यस्तै, यसअघि जडान गरिएको रेडियो कलरले समयमा सूचना दिन छाडेपछि नयाँ स्याटेलाइट रेडियो कलर जडान गर्न लागिएको हो । नयाँ उपकरण आइसकेको र यसले हात्ती बस्ती छिर्नासाथ तत्कालै सूचना दिने भएकाले स्थानीयलाई सतर्क गराउन सहज हुने निकुञ्ज प्रशासनले जनाएको छ ।
शनिबारको घटनापछि ध्रुवेले सोमबार साँझ मेघौलीको गोलाघाटस्थित सामुदायिक वनको गेट भत्काएर दुई स्थानीयको घरको अन्न समेत खाएको थियो । घरमा हात्तीले आक्रमण गरेपछि धपाउन खोज्दा आगलागी भई पीडित परिवारको घर समेत नष्ट भएको छ । निकुञ्ज र विपद् व्यवस्थापन समिति लगायतका निकायले सो घर पुनर्निर्माणको तयारी गरेका छन् ।
ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढी मान्छे मार्ने हात्तीको रूपमा परिचित छ । २०६६ सालदेखि मान्छेलाई आक्रमण गर्न थालेको यस हात्तीले हालसम्म २५ जनाको ज्यान लिइसकेको निकुञ्जको तथ्याङ्क छ । २०६९ सालमा यसले एकै महिनामा ४ जनाको ज्यान लिएपछि स्थानीय प्रशासनले यसलाई मार्ने आदेश समेत दिएको थियो । तर पछि यसको घाँटीमा रेडियो कलर जोडेर निगरानी मात्रै गरिँदै आइएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जमा ध्रुवेबाहेक रोनाल्डो र गोविन्दे नाम गरेका अन्य जङ्गली भाले हात्तीहरू पनि छन् । निकुञ्जमा हाल ४५ देखि ५० वटा जङ्गली हात्ती रहेको अनुमान छ ।






