काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलको हिरासत बसाइ झन् लम्बिएको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धानको फन्दामा परेका पौडेलविरुद्ध अदालतले फेरि कडा एक्सन लिएको छ। आज विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासले अनुसन्धानका लागि थप ५ दिनको म्याद थप गरिदिएको हो।
गएको जेठ ८ गते सुर्खेतबाट अप्रत्याशित रूपमा पक्राउ परेका पौडेलमाथि यो चौथो पटक म्याद थपिएको हो। यसअघि जेठ ९ गते ७ दिन, १५ गते ३ दिन र १८ गते ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको विभागले अझै प्रमाण जुटाउन बाँकी रहेको भन्दै समय मागेको थियो।
श्रीमतीको प्रयास असफल, सर्वोच्चबाट लाग्यो झट्का!
यता, पौडेललाई हिरासतमुक्त गराउन उनकी श्रीमतीले हदैसम्मको प्रयास गरेकी थिइन्। गैरकानुनी रूपमा हिरासतमा राखेको दाबी गर्दै रिहाइको मागसहित सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिट भने सर्वोच्चले सिधै खारेज गरिदिएको छ।
सर्वोच्चको यो आदेशसँगै पौडेल पक्षलाई ठुलो कानुनी धक्का लागेको छ र अब उनले हिरासतमै बसेर अनुसन्धानको सामना गर्नुपर्ने भएको छ।






