काठमाडौँ : चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डाक्टर देवेन्द्र खत्री नियुक्त हुनुभएको छ।
प्रधानमन्त्री एवं आयोगका अध्यक्ष वालेन्द्र शाहले डाक्टर खत्रीलाई उपाध्यक्षमा नियुक्त गर्नुभएको हो। नवनियुक्त उपाध्यक्ष खत्रीलाई बुधबार काठमाडौँमा शिक्षा तथा खेलकुद मन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले नियुक्तिपत्र प्रदान गर्नुभयो।
सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश ल्याएपछि आयोगका तत्कालीन उपाध्यक्ष डाक्टर अञ्जनी कुमार झा पदमुक्त हुनुभएको थियो। त्यसपछि रिक्त रहेको उक्त पदमा अर्को व्यवस्था नभएसम्मका लागि पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो।






