काठमाडौँ :प्रधानमन्त्री वालेन्द्र शाहले सरकार गठनको १०० दिन पूरा भएपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको डेढ घण्टा लामो भेटवार्तामा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्र र निजी क्षेत्रले भोगिरहेका समस्याबारे चासो राख्नुभएको हो। छलफलका क्रममा प्रधानमन्त्रीले उद्योगी व्यवसायीहरूलाई समस्या मात्र नभई बुँदागत रूपमा समाधानका उपायहरू समेत लिएर आउन आग्रह गर्नुभयो। सरकार निजी क्षेत्रका समस्या समाधान गर्न तयार रहेको स्पष्ट पार्दै उहाँले नियमित संवादका लागि प्रधानमन्त्रीको सचिवालय र निजी क्षेत्रका प्रतिनिधि समेटिएको एउटा अनौपचारिक समिति बनाउने आश्वासन दिनुभयो।
व्यवसायीहरूले राष्ट्र बैंकको मौद्रिक नीतिले आफ्ना माग सम्बोधन नगरेको गुनासो गरेपछि प्रधानमन्त्री शाहले आज बिहीबार राष्ट्र बैंक, बैङ्कर सङ्घ र निजी क्षेत्रका प्रतिनिधिहरू सम्मिलित संयुक्त बैठक राखेर समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो।
भेटवार्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले प्रधानमन्त्रीसँगको छलफल अत्यन्तै सकारात्मक रहेको र यसले व्यवसायीहरूको खस्किएको मनोबल उच्च बनाएको बताउनुभयो। बैठकमा उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ र चेम्बर अफ कमर्सका अध्यक्षसहितका पदाधिकारीहरूको सहभागिता रहेको थियो।






