काठमाडौँ :सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा सत्यतथ्य र निष्पक्ष छानबिन गर्न तीन सदस्यीय न्यायिक समिति गठन गरेको छ ।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो। समितिमा पूर्व–सहन्यायाधिवक्ता कृष्णमोहन कोइराला र पूर्व–सहसचिव रामुराज कडरिया सदस्य रहेका छन्।मन्त्रिपरिषद्ले समितिलाई गठन भएको मितिबाट सात दिनभित्र घटनाबारे विस्तृत छानबिन गरी प्रतिवेदन सरकारसमक्ष पेश गर्ने जिम्मेवारी दिएको छ। समितिले गणेश नेपालीको मृत्युको कारण, घटनाको वास्तविकता तथा सम्बन्धित पक्षहरूको भूमिकाबारे अध्ययन गर्नेछ। गणेश नेपालीको गत असार २६ गते काठमाडौंस्थित वीर अस्पतालको बर्न युनिटमा उपचारका क्रममा निधन भएको थियो।

उहाँको मृत्युपछि नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको थियो। उक्त सहमतिको पहिलो बुँदामा घटनाको निष्पक्ष छानबिन गर्न पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरी सात दिनभित्र प्रतिवेदन बुझाउने उल्लेख गरिएको थियो।
सोही सहमतिअनुसार सरकारले न्यायिक समिति गठन गरेको हो। अब समितिको प्रतिवेदनका आधारमा आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय