काठमाडौैँःअख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधिमा संलग्न रहेको आशंकामा नेपाली सेनाकी प्राविधिक सह–सेनानी (क्याप्टेन) सुफल केसीमाथि अनुसन्धान गर्न जंगी अड्डालाई पत्राचार गरेको छ ।
केसी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक प्रदीप अधिकारीकी पत्नी हुन् । अख्तियारले मंगलबार सार्वजनिक गरेको विवरणमा भने अधिकारीकी पत्नी समेत जग्गा किनबेचमा संलग्न रहेको भने पनि उनको नाम र पदीय भूमिका खुलाएको थिएन । अख्तियारले प्रदीप अधिकारीविरुद्ध घुस र सम्पत्ति शुद्धीकरणको आरोपमा विशेष अदालतमा मुद्दा दायर गर्दै उनकी पत्नीको खाताबाट भएको कारोबारबारे पनि अनुसन्धान आवश्यक देखिएको जनाएको छ ।
अख्तियारका अनुसार जग्गा कारोबारमार्फत सम्पत्ति शुद्धीकरण भएको आशंकामा करिब १ करोड ७१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ । आफ्नो पत्नीको खाताबाट कारोबार गरेको भनी अधिकारीमाथि आरोप लगाएको अख्तियारले नेपाली सेनामा कार्यरत उनकी पत्नीमाथि अनुसन्धान गर्नू भनी पत्राचारको निर्णय गरेको हो ।
कुमारी बैंकको मूल्यांकनकर्ताले अधिकारीले खरिद गरेको जग्गाको तीन करोड ३४ लाख रुपैंया मूल्यांकन गरेको र त्यसक्रममा ७५ लाख रुपैंया मात्रै कारोबार देखिएको भन्दै अख्तियारले बाँकी रकम सम्पत्ति शुद्धीकरणमा हिसाबकिताब गरी राफसाफ भएको दाबी गरेको हो । सोही विषयमा केसीको भूमिकाबारे आवश्यक अनुसन्धान गर्न रक्षा मन्त्रालय र नेपाली सेनालाई पत्र पठाइएको छ ।






