काठमाडौँःनेपाल हस्तकला व्यवसायी महासंघले हस्तकला व्यवसायको विकास, विस्तार र संरक्षणका लागि सरकारसँग सहकार्य गर्न पूर्ण रूपमा तयार रहेको जनाएको छ । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महासंघका प्रतिनिधिसँग छलफल गर्नुभएको थियो ।

छलफलका क्रममा महासंघले वर्तमान सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकता दिएको महसुस भएको भन्दै आवश्यक सबै क्षेत्रमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको हो । प्रधानमन्त्री शाहले हस्तकला सम्बन्धी नीति निर्माण, परम्परागत कला संरक्षण, रोजगारी सिर्जना र पुस्तान्तरणमार्फत सीप संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो । निजी–सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति पनि उहाँले सकारात्मक प्रतिक्रिया दिनुभयो । महासंघले हाल आफ्नै पहलमा मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय स्तरमा मनाउनुपर्ने माग राखेपछि प्रधानमन्त्री शाहले त्यसका लागि गृह मन्त्रालयसँग समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिनुभएको छ ।

त्यस्तै, हस्तकला सामग्री निर्यातमा स्वघोषणाको सट्टा बिजक मूल्यांकन प्रणाली लागू गर्ने सुझाव कार्यान्वयन गर्ने र तीन वर्षदेखि रोकिएको पाँच प्रतिशत निर्यात प्रोत्साहन रकम पुनः निरन्तरता दिने विषयमा पनि प्रधानमन्त्रीले आश्वासन दिनुभयो ।उद्योग विभाग परिसरमा निर्माण भइसकेको सार्क हस्तकला विकास केन्द्रको भवन महासंघलाई उपलब्ध गराउने, काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने तथा सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने विषयमा पनि प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको छ ।

यसका साथै निर्माण व्यवसायीसँग सहकार्य गरी कलात्मक संरचना निर्माण, परम्परागत सीप संरक्षण तथा हस्तकलाकर्मीलाई परिचयपत्र उपलब्ध गराउनेलगायत विषयमा पनि छलफल भएको थियो । छलफलमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय