काठमाडौँ :अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदातालाई त्रसित नबनाई खुसी पारेर कर उठाउन कर प्रशासकहरूलाई निर्देशन दिनुभएको छ। आन्तरिक राजस्व विभागमा देशभरका कर अधिकृतहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले जबरजस्ती भन्दा पनि स्वेच्छिक कर अनुपालनमार्फत दायरा बढाउन जोड दिनुभयो।
उहाँले भन्नुभयो— “करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुहोस्। कर प्रशासनमा सुधार भएको र कर तिर्न कोही पनि त्रसित नभएको सन्देश बजारमा जानुपर्छ।”
चालु आर्थिक वर्षको १६ खर्बको कुल राजस्व लक्ष्य पूरा गर्न आन्तरिक राजस्वको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उहाँले कर प्रशासन चुस्त बनाउन प्रविधि र पूर्वाधारको अभाव हुन नदिने प्रतिबद्धता जनाउनुभयो।
यस्तै, मुलुकलाई वित्तीय अनुशासनको ‘ग्रे लिस्ट’बाट निकाल्न सम्पत्ति शुद्धीकरणसम्बन्धी अपराधलाई मिहीन ढङ्गले हेर्न निर्देशन दिँदै अर्थमन्त्री वाग्लेले कर्मचारी सरुवाका लागि सोर्सफोर्स नलगाउन समेत चेतावनी दिनुभएको छ।






