काठमाडौँः पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा मृत फेला परेका १७ वर्षीय लजिन थापाको हत्या आइफोन मोबाइल लुट्ने उद्देश्यले आफ्नै साथीहरूले गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न रहेको आरोपमा बडिगाड–१ का २० वर्षीय रेमबहादुर बिक, १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियारलाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ । प्रहरीका अनुसार साउन १ गते राति जन्मदिन मनाएर फर्किने क्रममा आइफोनको विषयमा विवाद हुँदा रेमबहादुर र ददिले लजिनमाथि मुक्का र ढुङ्गा प्रहार गरेका थिए । कुटपिटबाट मृत्यु भएपछि उनीहरूले मोबाइल लुटी शव मनखोलामा लगेर लुकाएका थिए ।

लजिन साउन १ गतेदेखि बेपत्ता भएका थिए । उनको शव नौ दिनपछि शनिबार बिहान मनखोलामा फेला परेको हो । प्रहरीले घटनामा संलग्न चारै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान अघि बढाएको छ । काठमाडौँमा कक्षा ११ अध्ययनरत लजिन परीक्षा सकेर नागरिकता बनाउन घर आएका थिए। उनी परिवारका एक्ला छोरा थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय