काठमाडौँःप्रमुख दुई वाम शक्ति एमाले र नेकपाबीच प्रदेश सरकारमा सत्ता भागबण्डा गर्ने सहमति भएपछि लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिने भएको छ । कांग्रेसबाट सरकारमा सहभागी मन्त्रीहरूले आइतबार नै राजीनामा दिने तयारी गरेका छन् भने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेका छन् ।

लुम्बिनी प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा)ले संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसँग यस विषयमा छलफल भइसकेको जानकारी दिए । उनले आफ्नो नेतृत्वमा सरकारमा सहभागी कांग्रेसका सबै मन्त्रीले आजै बेलुकासम्म, सम्भव नभए भोलिसम्म राजीनामा बुझाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए ।

हाल लुम्बिनी सरकारमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना तथा वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी छन् । शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएको थियो। सहमतिअनुसार लुम्बिनी, बागमती र कोशी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेकपाले गर्नेछ । मधेस र गण्डकी प्रदेशमा भने अन्य राजनीतिक दलसँग परामर्श गरेर सरकार गठन गर्ने उल्लेख गरिएको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य २०८१ साउन ७ गते कांग्रेसको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए।

त्यसबेला कांग्रेस र एमालेसहित ५६ प्रदेशसभा सदस्यको समर्थनमा उनी मुख्यमन्त्री बनेका थिए। तर केन्द्रको राजनीतिक समीकरण परिवर्तन र पछिल्ला घटनाक्रमपछि प्रदेश सरकारको समीकरण पनि फेरिने अवस्था बनेको हो । हाल ८३ सदस्यीय लुम्बिनी प्रदेशसभामा एमालेका २९, कांग्रेसका २७ र सभामुखसहित नेकपाका १३ सांसद छन् । सरकार गठनका लागि आवश्यक ४२ मत पुग्याउन एमाले र नेकपाले अन्य साना दलको समर्थन आवश्यक पर्ने देखिन्छ । स्वतन्त्र सांसदसहित केही साना दलले समर्थन गर्ने सम्भावना रहेकाले नयाँ सरकार गठनको तयारी तीव्र बनेको छ ।

यता कांग्रेस नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारको भविष्य भने अझै अनिश्चित छ। मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीको निर्णयअनुसार अघि बढ्ने बताउँदै अहिले ‘पर्ख र हेर’को नीति अपनाइएको बताए। उनले पार्टी सभापति गगन थापासँग छलफलपछि आवश्यक निर्णय लिइने र निर्देशन आए सरकारलाई दिएको समर्थन फिर्ता लिन सकिने संकेत गरेका छन् । यसैबीच कर्णाली प्रदेशमा पनि सत्ता परिवर्तनको प्रक्रिया अघि बढेको छ । मुख्यमन्त्री यामलाल कँडेलले शनिबार पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि प्रक्रिया सुरु भइसकेको छ । प्रदेशहरूमा बदलिएको राजनीतिक समीकरणसँगै नयाँ सरकार गठनको दौड तीव्र बनेको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय