काठमाडौँःकर्णाली प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८(२) बमोजिम मङ्गलबार साँझ ५ बजेसम्म मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीका अनुसार प्रदेशसभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने सदस्यले दाबी पेस गर्न सक्नेछन् । यसअघि शनिबार मुख्यमन्त्री यामलाल कँडेलको राजीनामा स्वीकृत भएको थियो । उहाँविरुद्ध नेकपा र नेपाली कांग्रेसका १६ प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि कँडेलले पदबाट राजीनामा दिनुभएको हो । कँडेल पहिलो पटक २०८० चैत २७ गते नेकपा एमाले र नेकपा माओवादीको गठबन्धनमा मुख्यमन्त्री बन्नुभएको थियो ।
झन्डै चार महिनापछि केन्द्रमा समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेसको समर्थनमा आधाआधा कार्यकाल भागबन्डा गरी दोस्रो पटक २०८१ साउन २१ गते दोस्रो पटक विश्वासको मत लिएर मुख्यमन्त्री बन्नुभएको थियो ।






