काठमाडौँःनेपालकै पहिलो व्यवस्थित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सोमबार भव्य उद्घाटनसँगै सञ्चालनमा आएको छ । काठमाडौँ र धादिङ जोड्ने २.६८ किलोमिटर लामो मुख्य सुरुङमार्गको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनील लम्सालले जापानी राजदूत मायदा तोरु र जाइका अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा गर्नुभयो ।
पहिलो चरणमा आपत्कालीन सवारीसाधनलाई मात्र सञ्चालन अनुमति दिइएको छ भने निजी तथा सार्वजनिक सवारीसाधनका लागि क्रमिक रूपमा खुला गरिने जनाइएको छ । विसं २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गर्नुभएको आयोजना कोभिड–१९ र मुआब्जा विवादका कारण ढिलाइ भए पनि अन्ततः सम्पन्न भएको हो ।
जापानको हाज्मा आन्दो कर्पोरेसनले निर्माण गरेको यो आयोजनामा करिब २९ अर्ब रुपैयाँ लगानी भएको छ, जसको ठूलो हिस्सा जापान सरकारको ऋण सहायता हो । सुरक्षाका कारण पैदलयात्री, दुईपांग्रे सवारीसाधन र ज्वलनशील पदार्थ बोक्ने गाडीलाई सुरुङमार्ग प्रयोग गर्न नदिइनेछ । सुरुङ प्रयोग शुल्क कार तथा भ्यानका लागि काठमाडौँतर्फ ६५ र बाहिरिँदा ६० रुपैयाँ, बस तथा ट्रकका लागि २६० र २०० रुपैयाँ तथा हेभी ट्रकका लागि ६०० र २५० रुपैयाँ तोकिएको छ ।
सुरुङमार्ग सञ्चालनसँगै नागढुंगाको लामो ट्राफिक जाम घट्ने र काठमाडौँ उपत्यकाको आवागमन थप सहज हुने अपेक्षा गरिएको छ ।






