काठमाडौँःएमालेसँग भएको तीनबुँदे राजनीतिक सहमतिप्रति असन्तुष्टि जनाइरहेका नेपाली कम्युनिष्ट पार्टीका नेता माधवकुमार नेपालसँग पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेटवार्ता गरेका छन् । प्रचण्ड नेपाललाई भेट्न कोटेश्वरस्थित उनकै निवास पुगेका हुन् ।
स्रोतका अनुसार दुवै नेताबीच एमालेसँग शनिबार भएको तीनबुँदे सहमति, प्रदेश सरकारको नेतृत्वको बाँडफाँट तथा पार्टीभित्र देखिएको असन्तुष्टिबारे छलफल भएको थियो । विशेषगरी कोशी प्रदेश सरकारको नेतृत्व एमालेलाई दिने निर्णयप्रति नेपालले गम्भीर असहमति जनाउँदै आएका छन् । यसअघि आइतबार माधव नेपालले नयाँ बानेश्वरस्थित अर्याल होटलमा आफू निकट नेताहरूसँग छलफल गरी सहमतिका विषयमा समीक्षा गरेका थिए ।
नेपाल पक्षले कोशी सरकारको नेतृत्व एमालेलाई दिने निर्णयले पार्टीको राजनीतिक अवस्थामाथि असर पर्ने धारणा राखेको बताइएको छ । नेपाल निकट स्रोतका अनुसार प्रचण्डले भेटका क्रममा सहमति गर्ने क्रममा केही कमजोरी भएको स्वीकार गरेका थिए । दुवै नेताबीच देखिएको असन्तुष्टि समाधान गर्ने, पार्टीभित्र एकता कायम राख्ने र आगामी रणनीतिबारे समेत छलफल भएको जनाइएको छ ।
शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच भएको तीनबुँदे सहमतिअनुसार कोशी, बागमती र लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले लिने तथा कर्णाली र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नेकपाले गर्ने सहमति भएको छ । यही सहमतिलाई लिएर पार्टीभित्र मतभेद देखिएपछि प्रचण्ड स्वयं नेपाललाई भेट्न पुगेका हुन् ।






