काठमाडौँःओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–२ खनियाखर्कमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । आगलागीमा १५ वटा पशुचौपायाको मृत्यु भएको छ भने एउटा भैंसी घाइते भएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार आइतबार राति करिब १० बजे स्थानीय बालकुमार सन्यासीको ढुङ्गा–माटोले बनेको र जस्ताको छानो भएको एकतले मतान घरमा विद्युत् सर्ट भई आगलागी भएको हो । आगलागीबाट घरभित्र रहेका लत्ताकपडा, भाँडावर्तनलगायतका सामग्री जलेर नष्ट भएका छन् । घटनामा एउटा खसी, चारवटा बोका, दुईवटा पाठी र आठवटा बाख्रा गरी १५ वटा पशुचौपाया मरेका छन् । प्रहरीका अनुसार आगलागीबाट करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
आगलागीको कारण विद्युत् सर्ट रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।






