काठमाडौँःअनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच आठ बुँदे सहमतिको मस्यौदा तयार भएको छ । आइतबार सहमति हुन नसकेपछि सोमबार भएको वार्ताबाट दुवै पक्षले मस्यौदा तयार पारेका हुन् ।
मस्यौदा अनुमोदनका लागि प्रधानमन्त्री बालेन्द्र शाह र शिक्षा मन्त्री सस्मित पोखरेललाई पठाइएको छ । सरकारको जवाफ आएपछि सहमतिमा हस्ताक्षर गरिने डा. केसी पक्षका वार्ता टोली सदस्य डा. अमृत जैसीले जानकारी दिनुभयो । मस्यौदामा शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा चालु आर्थिक वर्षमै ३०० शय्याको अस्पताल सञ्चालन गर्ने र एमबीबीएस पठनपाठन सुरु गर्ने विषय समेटिएको छ।
साथै विश्वविद्यालयका रजिस्ट्रार डा. भीमबहादुर चन्दलाई पदमुक्त गर्ने, उपकुलपति डा. सुनिलकुमार जोशीलाई यथावत राख्ने तथा ऐनमा स्वार्थ बाझिने प्रावधान हटाउने विषय पनि समावेश गरिएको छ । डा. केसीले चिकित्सा शिक्षा ऐनअनुसार चिकित्सा शिक्षालाई पूर्ण गैरनाफामूलक बनाउने व्यवस्था कार्यान्वयन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति खारेज, छात्रवृत्ति कटौती तथा मापदण्डबिना सिट वृद्धि रोक्नुपर्ने लगायतका पाँच बुँदे माग राख्दै धनगढीमा अनशन जारी राख्नुभएको छ । उहाँले जेनजी आन्दोलनका क्रममा भएका हत्या, आगजनी, लुटपाट र विनाशका दोषीमाथि कारबाही तथा २०४६ सालदेखि हालसम्म भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत राख्नुभएको छ ।
सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. जेपी अग्रवाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा सचिव चूडामणि पौडेल सहभागी छन् । डा. केसीको पक्षबाट डा. पवन थापा र डा. अमृत जैसी वार्तामा सहभागी छन् । सरकारले माग सम्बोधन नगरेपछि डा. केसीले साउन ७ गतेदेखि धनगढीमा अनशन सुरु गर्नुभएको थियो ।
स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको छ । सहमतिपत्रमा हस्ताक्षर भएपछि उहाँले अनशन तोड्ने जनाइएको छ ।






