काठमाडौँःविराटनगरस्थित भूमि प्रशासन कार्यालयका कर्मचारी, बिचौलिया र बैंकबीचको मिलेमतोमा मोही कायम रहेको जग्गाको अभिलेख कीर्ते गरी बिक्री गरिएको छ । सोही जग्गा धितो राखेर रु. १ करोड ३० लाख ऋण प्रवाह भएको आरोप लागेको छ ।
जहदा गाउँपालिका–५ स्थित १२ कट्ठा १५ धुर जग्गामा मोही अजबलाल केवटको नाम मूल स्रेस्तामा भए पनि नयाँ धनीपुर्जा तयार गर्दा मोहीको विवरण हटाइएको थियो । असार ३० गते उक्त जग्गा सन सप्लायर्सका सञ्चालक सचिन साह हलुवाईको नाममा पास गरिएको भोलिपल्ट सिटिजन्स बैंक विराटनगर शाखाले सोही जग्गा धितो राखी रु. १ करोड ३० लाख ऋण प्रवाह गरेको खुलेको छ । स्रोतका अनुसार वास्तविक बजार मूल्य करिब रु. ३०–३२ लाख रहेको जग्गाको धितो मूल्याङ्कन रु. १ करोड ३० लाख गरिएको थियो ।
सञ्चारमाध्यमले चासो देखाएपछि भूमि प्रशासन कार्यालयले अभिलेखमा पछि डटपेनले मोहीको नाम थपेको र डिजिटल अभिलेखसमेत सच्याएको आरोप छ । भूमि प्रशासन कार्यालयका अधिकृत ढाकाप्रसाद बरालले प्राविधिक त्रुटिका कारण कमजोरी भएको स्वीकार गर्दै अभिलेख सच्याइएको बताएका छन् । यता, सिटिजन्स बैंकका सम्बन्धित अधिकारीहरूले फाइल अध्ययनपछि मात्रै प्रतिक्रिया दिने बताएका छन् । यसैबीच, रु. १३ लाख ऋणको धितोका रूपमा जग्गा लिएका राजेन्द्रप्रसाद केवटले आफूलाई जानकारी नदिई जग्गा बिक्री गरिएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।
घटनामा सरकारी अभिलेख कीर्ते, गैरकानुनी कारोबार र बैंकिङ प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ ।






