काठमाडौँःसिरहाको सुखीपुर नगरपालिकास्थित नगर आधारभूत अस्पतालका कार्यालय प्रमुख डा. लुस्युनकुमार यादवले साउन १२ गते नै साउन २८ गतेसम्मको हाजिर एकैपटक गरेको भेटिएको छ ।
अस्पतालको आधिकारिक हाजिरी रजिस्टरमा भविष्यको मितिसम्म हस्ताक्षर गरिएको भेटिएपछि कर्मचारी उपस्थितिको अभिलेख, प्रशासनिक अनुशासन र सुशासनमाथि प्रश्न उठेको छ । प्रतिक्रिया माग्दा डा. यादवले “कहिलेकाहीँ मिस्टेकले यस्तो हुन सक्छ“ भन्दै सामान्य त्रुटि भएको दाबी गरे । साउन १२ मै २८ गतेसम्मको हाजिर कसरी भयो भन्ने प्रश्नमा उनले पुनः त्यही जवाफ दिँदै फोन काटेका थिए । घटनाबारे सुखीपुर नगरपालिकाका प्रमुख रामऔतार यादवसँग प्रतिक्रिया लिन खोजिए पनि उनले आफू छलफलमा रहेको भन्दै फोन काटेका थिए ।
स्रोतका अनुसार डा. यादव नगर प्रमुखका छोरा हुन् र नगर आधारभूत अस्पतालमा करार सेवाका चिकित्सक तथा कार्यालय प्रमुखको जिम्मेवारीमा कार्यरत छन् ।






