काठमाडौँःवीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र दुव्र्यवहारको घटनापछि देशभरका चिकित्सक आन्दोलनमा उत्रिएका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल तथा ओपीडी सेवा बन्द नगर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. समीर अधिकारीले मन्त्रालयले अस्पताल बन्द गर्न नभनेको स्पष्ट गर्दै स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुनुपर्ने बताए । चिकित्सकहरूको आन्दोलनलाई संवाद र समन्वयमार्फत समाधान गर्ने प्रयास भइरहेको उनको भनाइ छ । मन्त्रालयका अनुसार स्वास्थ्यमन्त्री, स्वास्थ्य सचिव, मन्त्रालयका अधिकारी, स्थानीय प्रशासन र चिकित्सकका प्रतिनिधिबीच निरन्तर छलफल भइरहेको छ। घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने भन्दै मन्त्रालयले आन्दोलनका कारण बिरामीको उपचार प्रभावित हुन नदिन आग्रह गरेको छ ।

यता नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । उनीहरूले प्रमुख जिल्ला अधिकारी (सीडीओ) र जिल्ला प्रहरी प्रमुख (एसपी) को राजीनामा तथा चिकित्सकमाथि कुटपिट गर्ने व्यक्तिलाई तत्काल जेल हाल्नुपर्ने माग गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानअनुसार मंगलबार देशभर अधिकांश स्वास्थ्य संस्थाले आकस्मिक बाहेकका सेवा बन्द गरेका छन् ।

संघका अध्यक्ष डा. बद्री रिजालले दोषीलाई कानुनी कारबाही नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् । साथै आन्दोलनको आगामी रणनीतिबारे छलफल गर्न संघले पदाधिकारीहरूको बैठकसमेत बोलाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय