काठमाडौँःभारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएको छ ।
बाँध खोलिएसँगै महाकाली नदीको जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले जिल्ला प्रशासन कार्यालय बैतडीले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त जानकारीअनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट सफाइका लागि बाँध खोलिनेछ । यस अवधिमा महाकाली नदीको पानीको सतह बढ्न सक्ने भएकाले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्न, ढुंगा–बालुवा संकलन नगर्न तथा अन्य जोखिमपूर्ण गतिविधिबाट टाढा रहन प्रशासनले आग्रह गरेको छ।
साथै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई आवश्यक तयारी र पूर्वसतर्कता अपनाउन पनि अनुरोध गरिएको छ।






