काठमाडौँ:जापानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
७ दशमलव १ म्याग्निच्युडको भूकम्पका कारण भत्किएका भवन र एउटा सपिङ मलमा फसेकाहरूको उद्धारका लागि रातभर टोलीहरू परिचालन गरिएका छन् ।
क्युशु टापुको कुमामोतो प्रान्तलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कासिमा सहरमा रहेको ‘इयोन मल’ को दोस्रो तल्ला भत्किएको छ । भूकम्प लगत्तै मलमा ग्यास लिक भएर विस्फोट हुँदा ठूलो क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त मलमा मात्रै कम्तीमा १० जना बेपत्ता भएका छन् भने ५५ जना घाइते छन् ।
जापानकी प्रधानमन्त्री सानाए ताकाइचीका अनुसार भूकम्पमा परी हालसम्म १३ जनाको मृत्यु पुष्टि भएको छ भने ३ सयभन्दा बढी घाइते भएका छन् । भत्किएका घर, सपिङ मल र एउटा कागज कारखानाको भग्नावशेषमा फसेकाहरूको खोजी कार्य अहिले पनि जारी छ ।
भूकम्पका कारण दर्जनौं घरहरू भत्किएका छन्, पुलहरूमा क्षति पुगेको छ र रेल सेवा पूर्ण रूपमा ठप्प भएको छ । प्रभावित क्षेत्रका करिब २ लाख ६० हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । अधिकारीहरूले अझै शक्तिशाली पराकम्पहरू आउन सक्ने भन्दै सतर्क रहन सचेत गराएका छन् ।






