काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को सदस्यमा नेपाललाई मतदान गर्न विश्वसमुदायलाई आग्रह गरेकी छन् ।

संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ५८औँ उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने क्रममा जेनेभमा रहेकी मन्त्री राणाले विभिन्न देशका राजदूत एवं प्रतिनिधिलाई नेपालको पक्षमा मतदान गर्न आग्रह गरेकी हुन् ।

जेनेभास्थित नेपाली स्थायी नियोगद्वारा बुधबार साँझ मन्त्री राणाको सम्मानमा तथा विभिन्न देशका स्थायी नियोग र अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रमुखका लागि आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै उनले सीमित स्रोत र साधनका बाबजुद पनि मानवअधिकारको रक्षा र प्रवद्र्धनका क्षेत्रमा नेपालले गरेका काम र प्राप्त उपलब्धिलाई हेरेर मत दिन आग्रह गरिन् ।

सो समारोहमा जेनेभामा रहेका एक सयभन्दा बढी देशका राष्ट्रसङ्घीय स्थायी नियोगका प्रमुख तथा राजदूत र विभिन्न अन्तरराष्ट्रिय सङ्घसंस्थाका प्रतिनिधि उपस्थित थिए । उनले नेपालले शान्ति प्रक्रियाका क्रममा पनि विश्वकै उदाहरणीय भएर काम गरेको दृष्टान्त पेस गर्दै शान्ति प्रक्रियाका बाँकी कामलाई पनि यथाशीघ्र टुङ्ग्याउने गरी सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन निर्माण गरेर तदारुकताका साथ काम गरिरहेको जानकारी गराइन् ।

मन्त्री राणाले पछिल्लो समयमा नेपालले बाल, महिला तथा अल्पसङ्ख्यकको अधिकारका साथै समावेशताका क्षेत्रमा उपलब्धि हासिल गरेको जानकारी गराउँदै नेपालको वर्तमान सरकार सदैव राष्ट्रिय मानवअधिकार आयोगको स्वतन्त्रताका पक्षमा रहिआएको पनि स्पष्ट गरिन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय