काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुपदार्थ मुक्त देशको रुपमा स्थापित गर्न सबै एकजुट भएर काम गर्नुपर्ने बताएका छन् ।
शनिबारबाट नेपाल प्रहरीले सुरु गरेको लागुऔषध विरुद्धको महाअभियानको शुभारम्भ गर्दै गृहमन्त्री लेखकले अहिले संघीयतामा सरकार रहेको उल्लेख गर्दै तीन तहकै सरकारले लागुऔषधविरुद्धको महाअभियानलाई सफल बनाउन आवश्यक काम गर्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री लेखकले नागरिकसँग नजिक रहेको स्थानीय सरकारले बढी पहल कदमी लिनुपर्ने बताए । पालिका र वडा÷वडा स्तरबाट लागुऔषध बिरुद्धको महाअभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ ।
गृहमन्त्री लेखकले ६ महिनामा लागुऔषध मुक्त पालिका घोषणा गर्नेगरी अभियान चलाउन आग्रह गरे । समग्र राष्ट्रलाई नै केही समयभित्र लागुपदार्थ मुक्त राष्ट्रका रुपमा लैजान जरुरी रहेको उल्लेख गर्दै गृहमन्त्री लेखकले यसले समाजमा नकारात्मक प्रभाव पारेको जिकिर गरे ।
गृहमन्त्री लेखकले अपराध बढाउनेमध्येको एउटा मुल कारण लागुऔषध रहेको बताउदै अपराध नियन्त्रणका लागि लागुऔषध नियन्त्रण आवश्यक रहेको उल्लेख गरे । लागुऔषध नियन्त्रणसम्बन्धी महाअभियानलाई विद्यालय तहसम्म पु¥याउन जरुरी रहेको बताए । लागुऔषधलाई समयमा नियन्त्रण गर्न नसके अब को १५ वर्षपछि एउटा पुस्ता नै लागूऔषदबाट प्रभावित बन्ने जिकिर गरिएको छ ।






