काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको अभावमा काठमाडौं महानगरपालिकाको कामकाज ठप्प हुने अवस्थामा पुगेको छ । महानगरपालिकामा कार्यरत करिब ३५ सय कर्मचारीले मंसिर यता तलबत्र पाउन सकेका छैनन् भने अन्य दैनिक कामकाज पनि ठप्प भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतबाट हुने कामकारबाही रोकिँदा महानगरपालिकाले भुक्तानी दिनुपर्ने करिब ७० करोड रुपैयाँ बराबर कामको भुक्तानी रोकिएपछि फुटपाथ निर्माणको साथै नयाँसडक क्षेत्रका घरहरूमा एकै किसिमको रङ्ग लगाउन भएको खर्चको भुक्तानी समेत रोकिएको छ । तर, महानगरपालिकाले कर उठाउने काम भने रोकेको छैन ।

पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘भ्यू टावर’को नक्सा स्वीकृतिको विषयमा महानगरपालिकाले अनुसन्धान सुरु गरेपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ केही महिना अघिदेखि बिदामा बसेका छन् । उनको ठाउँमा सरकारले नयाँ प्रमुख प्रशासकिय अधिकृत पठाएको छैन ।

यो विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र महानगर प्रमुख साहबीच विवाद चर्किएको छ । साहले प्रधानमन्त्री ओलीकै आदेशमा सामान्य प्रशासन मन्त्रालयले आफूलाई असफल बनाउन प्रमुख प्रशासकिय अधिकृत नियुक्त नगरेको आरोप लगाउँदै आएका छन् भने सरकारले भने साहको कार्यशैलीको कारण कर्मचारीहरु महानगरपालिकामा जानै नचाहिरहेको दावी गर्दै आएको छ ।

उक्त भ्यूटावरबारे महानगरपालिकाले गठन गरेको छानबिन समितिको प्रतिवेदन नै मेयर साहले लुकाएको भन्दै उपमेयर सुनिता डंगोलसहितका महानगरकै पदाधिकारीले पनि साह माथि आरोप लगाइरहेका छन् । मन्त्रालयले छानबिन समितिको प्रतिवेदन अध्ययन गरेपछि बल्ल प्रमुख प्रशासकिय अधिकृत पठाउने जानकारी मेयर साहलाई दिएको बताइएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय