काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवशीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई एक सय ३१ रनले हराएको छ । बागमतीले दिएको दुई सय ४१ रनको लक्ष्य पछ्याएको कोशी २५ ओभर तीन बलमा एक सय नौ रनमा अलआउट भयो ।
कोशीका लागि आशिष भट्टराईले सबैभन्दा धेरै ३७ र सुजन थपलियाले २५ रन बनाए । बागमतीका बलर सूर्य तापाङले पाँच विकेट लिए । यस्तै रिजन ढकालले तीन विकेट र साकार गजुरेलले एक विकेट लिए ।
त्यसअघि दाङको देउखुरी मैदान लमहीमा टस जितेर पहिले ब्याटिङ गरेको बागमती ४९ ओभर तीन बलमा दुई सय ४० रनमा अलआउट भयो । बागमतीका लागि सुवाश कंसाकारले ३९, आशुतोष घिरोइयाले २९, इशान पाण्डे र विपिन आचार्यले समान २५ रन बनाए । यस्तै कप्तान पृथु बास्कोटाले २४ रन बनाए । कोशीका बलर प्रकाश कार्की र सुजन थपलियाले समान दुई विकेट लिए ।
यो जीतसँगै बागमती सात खेलमा छ अङ्कसहित छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा दुई अङ्कसहित कोशी तालिकाको पुछारमा झरेको छ । प्रतियोगितामा तीन विभागीय टोली र सात प्रदेश गरी १० टोली छन् । प्रतियोगिता यही १६ गतेसम्म चल्नेछ ।






