
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन सुरू भएको छ ।
थाइल्याण्डको बैङ्ककमा सदस्य देशका सरकार प्रमुखहरुको सामूहिक फोटोसेसन र कार्यसूची टेबल गरिएसँगै बिम्स्टेक सम्मेलन सुरू भएको हो ।
सदस्य देशका प्रतिनिधिमण्डलका नेताहरुलाई आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राले स्वागत गरेका छन् ।
सम्मेलनमा आज प्रधानमन्त्री केपी शर्मा ओलीसहित सदस्य देशका सरकार प्रमुखहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।
शिखर सम्मेलनमा ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षरपछि सदस्य देशहरु थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।
यसैबीच, आजै प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने कार्यक्रम तय भएको छ । बिमस्टेक सम्मेलनका क्रममा दुई देशका प्रधानमन्त्रीबीच आज दिउँसो ४ बजे साइडलाइन वार्ता हुने तय भएको हो ।