काठमाडौं । गत १५ चैतमा राजधानीको तीनकुनेमा भएको प्रदर्शनमा मानव अधिकारको गम्भीर उल्लङ्घन भएको संसदीय समितिले निष्कर्ष निकालेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले गृहमन्त्री, गृह सचिव, प्रहरी प्रमुखहरूलगायतसँग छलफलपछि यस्तो निष्कर्ष सार्वजनिक गरेको हो ।
प्रदर्शनका क्रममा एभिन्यूजकर्मी पत्रकार सुरेश रजक र कीर्तिपुरका सविन महर्जनको मृत्यु हुनुका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार दस्ताबेज उल्लङ्घन भएको भन्दै समितिले दुःख व्यक्त गरेको छ । दोषीउपर छानबिन गरी कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।
साथै, तीनकुने क्षेत्रमा आगामी दिनमा सभा, विरोध र धर्ना अनुमति नदिन पनि सरकारलाई समितिले निर्देशन दिएको छ ।






